काठमाडौं । चीनले रसुवागढी–केरुङ जोड्ने बेलिब्रिज निर्माणको काम आज (आइतबार) बाट औपचारिक रूपमा सुरु गरेको छ। गत असार २४ गते ल्हेन्दे खोलामा आएको बाढीले मितेरी पुल बगाएपछि अवरुद्ध भएको प्रमुख व्यापारिक नाका पुनः सञ्चालनमा ल्याउन चीनले बेलिब्रिज निर्माणको तयारी गरेको हो।
नेपाल सरकारबाट आवश्यक स्वीकृति प्राप्त भएसँगै चीनले आइतबारदेखि निर्माणको काम अगाडि बढाएको रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलले बताए । पौडेलकाअनुसार तिब्बततर्फको क्षेत्रमा पहिल्यैदेखि साइट क्लियरेन्सको काम भइरहेको हुँदा १५ सेप्टेम्बर (३० भदौ) भित्र पुल निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएको छ।
पुल बगाएपछि नेपालले चीनसँग तत्कालीन रुपमा बेलिब्रिज निर्माण तथा सीमा सडक पुनर्निर्माणका लागि आग्रह गरेको थियो। परराष्ट्र मन्त्रालयले अर्थ, भौतिक पूर्वाधार, कानुन लगायत सम्बन्धित निकायहरूसँगको रायपछि चीनसँग समझदारी भएको हो। हाल आपतकालीन प्रयोगका लागि बेलिब्रिज निर्माण थालिएको हो।
शनिबार रसुवाका प्रमुख जिल्ला अधिकारी पौडेलको नेतृत्वमा नेपाली टोली र चीनका समकक्षीबीच निर्माणस्थलबाटै भर्चुअल बैठक पनि भएको थियो। बैठकमा उद्धार, राहत, पुनर्निर्माण र पुनस्र्थापनाबारे विस्तृत छलफल भएको र निर्माणमा सहज वातावरण तयार गर्न स्थानीय प्रशासनले पूर्ण सहकार्य गर्ने प्रतिबद्धता जनाएको छ।
नेपाल र चीनबीचको कुल व्यापार वार्षिक सवा तीन खर्बभन्दा बढीको छ। आर्थिक वर्ष ०८१/८२ मा नेपालले चीनबाट तीन खर्ब ४१ अर्बको वस्तु आयात गर्दा दुई अर्ब ६३ करोडको निर्यात गरेको थियो। सोही वर्ष रसुवा नाका हुँदै मात्र ८५ अर्ब रुपैयाँभन्दा बढीको आयात र दुई अर्ब रुपैयाँभन्दा बढीको निर्यात भएको थियो। यो नाका दुवै देशका लागि अत्यन्तै महत्त्वपूर्ण व्यापारिक मार्ग मानिन्छ।
प्रतिक्रिया दिनुहोस्