काठमाडौं । नेपाली काँग्रेसका नेता एवं राष्ट्रिय सभा सदस्य कृष्णप्रसाद सिटौलाले अर्को सरकार बन्ने विकल्प नरहेको बताएका छन् ।
आइतबार काठमाडौंमा कुराकानी गर्दै उनले अहिले कुनै एक दलको बहुमत नरहेको र अर्को सरकार बन्ने परिस्थिति पनि नरहेको उल्लेख गरे । उनले वर्तमान सरकार एउटा जटिल परिस्थितिमा निर्माण भएको र काँग्रेस र एमालेबीच भएका सम्झौताअनुसार नै पूरा कार्यकाल सरकार चल्ने बताए। सरकारले एक वर्षमा अपेक्षाअनुसार भने काम गर्न नसकेको बताए।
उनले भने, ‘कसैको बहुमत छैन, प्रचण्डजीले नछोडेको भए त्यही सरकार चलिरहन्थ्यो होला, एउटा परिस्थितिमा निर्माण भएको सरकार हो । वर्षदिनको समीक्षा गर्दा राजनीतिक दलहरुले अपेक्षा गरेअनुसार काम हुन सकेको छैन । तर यो सरकार कन्टिन्यु जान्छ । किनभने यसको विकल्प अर्को सरकार बन्ने स्थिति देखिँदैन । अर्को सरकार बन्ने परिस्थिति, विकल्प नै देखिँदैन । जे सम्झौता भएको त्यसबमोजिम सरकारले आफ्नो कार्यकाल पूरा गर्दछ ।’
नेता सिटौलाले संविधान कार्यान्वयनको समीक्षा गर्ने र संशोधन गर्नेकुरामा सरकारले कार्यदल बनाएर अघि बढ्ने पनि बताए ।
प्रतिक्रिया दिनुहोस्