काठमाडाैँ । नेपाली काँग्रेसकी सांसद कमला पन्तले मुलुकको मुख्य समस्या सुशासनको अभाव भएको उल्लेख गर्दै भ्रष्टाचार र अनियमितता मौलाउँदै गएको टिप्पणी गरेकी छन् ।
राष्ट्रिय सभाको आइतवारको बैठकमा बोल्दै सांसद पन्तले यस्तो टिप्पणी गरेकी हुन् । राज्यका प्रमुख अंगहरूप्रति जनविश्वास लगातार घटिरहेको भन्दै उनले चिन्ता व्यक्त गरिन्।
उनले राजनीतिक दलहरूबिचको पारस्परिक अविश्वास र सेवा प्रदायक तथा सेवाग्राहीबिच समेत विश्वासको संकटल बढिरहेको उल्लेख गर्दै यसप्रति सरकार गम्भीर बन्न जरुरी रहेको बताइन् । उनले सामान्य काम सम्पन्न गर्नको लागि समेत कर्मचारीहरूले टेबुलमुनिबाट कारोबार गर्ने गरेको समेत आरोप लगाइन् ।
“अहिले हाम्रो देशको प्रमुख समस्या सुशासन हो । यसले सदाचारिताको संस्कृतिलाई मार्दै गयो । र भ्रष्टाचार तथा अनियमिततालाई प्रोत्साहन गर्दै गएको छ । त्यसैले अहिलेको समस्याप्रति म केही ध्यानाकर्षण गराउन चाहन्छु । राज्यका प्रमुख अंगहरुप्रतिको विश्वसनीयता दिनप्रतिदिन खस्किदैँ गएको छ । एउटा पार्टीले अर्को पार्टीप्रति र एउटा व्यक्तिले अर्को व्यक्तिप्रतिको संस्थागत विश्वसनीयता पनि घट्दै गएको छ,” उनले भनिन्।
सांसद पन्तले घुस प्रकरणमा जोडिएका मन्त्रीहरू समेत खुलेआम हिँडिरहेको भन्दै मन्त्रीपरिषद्ले बोल्ने कि नबोल्ने भन्दै प्रश्न गरिन्। उनले दुईवटा वाइडबडी विमान खरिद प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निर्णय प्रक्रियामा संलग्न आफ्ना प्रमुख आयुक्त प्रेमकुमार राईमाथि अभियोजन नगरेकोमा विशेष अदालतले प्रश्न उठाएपछि उनीमाथि महाअभियोग लगाउन समेत माग गरिन् ।
प्रतिक्रिया दिनुहोस्