रोटरी क्लब बानेश्वरद्वारा टोखामा वृक्ष तथा फलफूल नर्सरी स्थापना, ४५० बिरुवा रोपिँदै दिगो वन संरक्षणमा टेवा


काठमाडौँ । रोटरी क्लब अफ बानेश्वरले इन्द्रायणी भुतखेल सामुदायिक वनसँगको सहकार्यमा ‘रोटरी वृक्ष तथा फलफूल नर्सरी स्थापना र वृक्षारोपण कार्यक्रम’ सम्पन्न गरेको छ। कार्यक्रम अन्तर्गत सामुदायिक वन क्षेत्र टोखामा ४५० बिरुवाहरू रोपिएका छन्।

कार्यक्रमअन्तर्गत ५० वटा सिप्रसका बिरुवा तथा ४०० विभिन्न प्रकारका फलफूल र जडीबुटीका बिरुवा नर्सरीमा हुर्काउने उद्देश्यले रोपिएको हो। रोपिएका बिरुवामध्ये तेजपत्ता, सुन्तला, मुन्तला, कागती, धुपी, तुलसी र रोजमेरीजस्ता बहुपयोगी प्रजातिहरू समावेश छन्।

जैविक विविधताको संरक्षण र स्थानीय वन प्रणालीको दीर्घकालीन समृद्धिमा योगदान पुर्‍याउने उद्देश्यका साथ कार्यक्रम सञ्चालन गरिएको आयोजकले जनाएको छ।

सामुदायिक वनको अनुरोधअनुसार सिप्रसका बिरुवा वनको विशेष भू-भागमा रोपिएको छ। कार्यक्रमपछि सहभागी टोलीले नवस्थापित नर्सरीको अवलोकन गर्दै ४०० बिरुवाहरू इन्द्रायणी सामुदायिक वनका प्रतिनिधिहरू सूर्यमान डंगोल र हरिनारायणलाई औपचारिक रूपमा हस्तान्तरण गरेका छन्।

नर्सरीमा हुर्काइएका बिरुवाहरू आवश्यक हेरचाह पश्चात् वन क्षेत्र वा अन्य उपयुक्त स्थानमा रोपिने योजना छ। यस पटक सिधा रोपाइँको सट्टा पहिला नर्सरीमा हुर्काउने विधि अपनाइएको छ, जुन वर्षायाममा अत्यधिक वर्षाका कारण बिरुवाहरू नष्ट हुने समस्यालाई न्यूनीकरण गर्न आधारित रहेको क्लबले जनाएको छ। अघिल्ला वर्षहरूमा सिधा रोपाइँ गर्दा ५०–६० प्रतिशत बिरुवा नष्ट हुने गरेको अनुभवलाई ध्यानमा राख्दै दीर्घकालीन सफलताको आशामा नयाँ विधि अपनाइएको हो।

नर्सरीसँगै कम्पोस्ट मल उत्पादन केन्द्र पनि स्थापना गरिएको छ, जहाँ वन क्षेत्रमा झरेका पात तथा घाँस प्रयोग गरी जैविक मल उत्पादन गरिन्छ। प्रतिकिलो २५ रुपैयाँमा विक्री हुने यो मलले नर्सरी तथा वन व्यवस्थापनमा आर्थिक सहयोग पुर्‍याइरहेको छ।

कार्यक्रममा ९ जना रोटेरियन, ४ जना सामुदायिक वनका स्वयंसेवक र २ जना रोटरी स्वयंसेवक गरी कुल १५ जनाको सक्रिय सहभागिता रहेको थियो। सहभागीहरूको सहकार्य र प्रतिबद्धताले हरित वातावरणप्रतिको साझा दायित्व र दिगो भविष्यप्रतिको दृष्टिकोणलाई झल्काएको छ।