काठमाडौं । महान्याधिवक्ता रमेश बडालले सामाजिक सुरक्षा कोषमा आवद्धता धनी बन्नका लागि नभएको स्पष्ट पारे ।
सामाजिक सुरक्षा कोषले आयोजना गरेको ‘सामाजिक सुरक्षा कोषमा वृहत आवद्धता अभियानको लागि सामाजिक सुरक्षा कोष र नेपाल बार एसोसिएसनबीच सम्झौतामा हस्ताक्षर कार्यक्रम’ मा महान्यायाधिवक्ता बडालले यस्तो बताएका हुन् ।
उनले सामाजिक सुरक्षा कोषमा गरेको योगदान बैंकमा जम्मा गरेको रकम वा सेयरमा गरेको लगानी जस्तो नभएको बताए ।
उनले भने, ‘कतिपय सन्भर्दमा साथीहरूको प्रश्न उठ्छ ल, यो त सेभिङ फण्ड हो कि त । मैले राखेको पैसा मैले रिटर्न पाउनुपर्छ भन्ने छ । ‘सोसियल सेक्युरिटी फण्ड’ ले कसैलाई धनी बनाउन खोज्दैन । र यसले कसैलाई पनि भोक र रोगको कारणले मर्न दिँदैन । यसको ‘थेम’ यतिमात्रै बुझ्दा पनि हुन्छ ।
यसबाट रकम निकालेर कहिँ घरजग्गा वा अन्य व्यवसायमा लगानी गर्न नपाइने भन्दै सामाजिक सुरक्षा कोषमा गरेको लगानीले कसैलाई धनी पनि नबनाउने र रोग र भोकले मर्न पनि नदिने बडालले बताए ।
महान्यायाधिवक्ता बडालले सामाजिक सुरक्षा कोषलाई सामाजिक सुरक्षाकै रुपमा हेर्न र बचत वा लगानीको रुपमा नहेर्न पनि कानून व्यवसायीहरूसँग आग्रह गरे । नेपाल बार एशोसिएशन र सामाजिक सुरक्षा कोषबीच सम्झौता भएसँगै बारमा आवद्ध कानून व्यवसायीहरू सामाजिक सुरक्षा कोषमा आवद्ध भएका छन् । उनले बच्चा जन्मेदेखि हुने जोखिम र दुर्घटना वा अशक्तताको अवस्थामा सामाजिक सुरक्षा कोषले मद्दत गर्ने पनि स्पष्ट पारे । –
प्रतिक्रिया दिनुहोस्