सामाजिक सुरक्षालाई आईएलओले रोलमोडलको रूपमा अगाडि बढाउन खोजेका छाैँः श्रममन्त्री भण्डारी


काठमाडाैँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले नेपालको सामाजिक सुरक्षा योजना अन्तर्राष्ट्रिय रूपमै गर्व गर्न लायक रहेको बताएका छन् ।

आइतबार सामाजिक सुरक्षा कोषले आयोजना गरेको ‘सामाजिक सुरक्षा कोषमा वृहत आवद्धता अभियानको लागि सामाजिक सुरक्षा कोष र नेपाल बार एसोसिएसनबिच सम्झौतामा हस्ताक्षर कार्यक्रम’ मा मन्त्री भण्डारीले यस्तो बताएका हुन् ।

आफू केही दिनअघि आईएलओ (अन्तर्राष्ट्रिय श्रम संगठन) को बैठकमा सहभागी भएको जानकारी दिँदै मन्त्री भण्डारीले अन्तर्राष्ट्रिय मञ्चबाट नेपालको सामाजिक सुरक्षा योजनाप्रति प्रशंसा गरिएको सुनाए । 

“म भर्खर आईएलओ को जेनेभामा आईएलओको मिटिङमा थिएँ । नेपालको सामाजिक सुरक्षा प्रणाली र सामाजिक सुरक्षाकोषको लिडरसिपलाई अहिले आईएलओले रिजनल टाइपुनको रुपमा नेपालको सामाजिक सुरक्षालाई हाम्रो एशिया जिसीजी कन्ट्रीलाई नेपालको सामाजिक सुरक्षालाई रोलमोडलको रुपमा अगाडि बढाउन खोजिरहेका छन्,” उनले भने ।

मन्त्री भण्डारीले हरेक नेपालीलाई अवकाशपछि पेन्सन पाउने अवस्थामा लैजान खोजेको स्पष्ट पारे । मानिसहरू अवकासपछिको जीवनको सुरक्षाका लागि सरकारी जागिर खोजिरहेको उल्लेख गर्दै श्रम बजारमा वार्षिक आउने ५ लाखमध्ये एक लाखले मात्रै सरकारी जागिर पाइरहेको उल्लेख गरे ।

उनले  समाजमा हेरेकले भोलि पेन्सन पाउनुपर्छ र पाउँछ भन्ने कुराको सुरुवात सामाजिक सुरक्षा प्रणालीले गरेको भन्दै त्यो उसैको योगदानबाट मात्रै सम्भव हुने उल्लेख गरे। राज्यको योगदानबाट सामाजिक सुरक्षा हुन सम्भव नरहेको मन्त्री भण्डारीको भनाइ थियो । राज्यको भर पर्दा स्वास्थ्य बीमाले दुर्गती भोग्नुपरेको उदाहरण पेश गर्दै उनले व्यक्तिको आफ्नै योगदानबाट मात्रै सामाजिक सुरक्षा हुनसक्ने स्पष्ट पारे ।