काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आफ्नो कार्यालयमा अहिलेसम्म कुनैपनि बेरुजु नदेखिएको जनाएको छ । प्रत्येक वर्ष सरकारी कार्यालयहरूमा ठूलो परिमाणमा बेरुजु देखिने गरेका बेला अख्तियारको भने बेरुजु शून्य रहेको आयोगले जानकारी दिएको हो ।
सार्वजनिक लेखा समितिको सोमबार बसेको बैठकमा अख्तियारका सचिव नारायण शर्मा दुवाडीले आयोगको बेरुजु शून्य रहेको जानकारी गराए । उनले कानुनको परिपालनामै रहेर कार्यसम्पादन गर्दा बेरुजु नदेखिएको बताए ।
“कानूनअनुसार काम गरेकै कारण बेरुजु नआएको हो,” सचिव दुवाडीले भने, “इमान्दारीतापूर्वक कानूनको परिपालना गरौं, बेरुजु रहँदैन ।” उनले बेरुजु नै भ्रष्टाचारको सुरुआत हुने भन्दै समयमै फछ्र्यौट नगर्दा भ्रष्टाचारमा परिणत हुने खतरा औंल्याए ।
सचिव दुवाडीका अनुसार बेरुजु बढ्नुका पछाडि लेखा प्रणालीको कमजोरी, फछ्र्यौट दायित्वबारे स्पष्टता नहुनु, कर्मचारीको बारम्बार सरुवा तथा कमजोर कारबाही संयन्त्र प्रमुख कारण हुन् । उनले बजेटमा औचित्य पुष्टि नहुने शीर्षक राखिने प्रचलन पनि बेरुजु बढ्नेको अर्को कारण भएको बताए ।
प्रतिक्रिया दिनुहोस्