मुख्य राजमार्गका ८ स्थानमा पूर्ण अवरोध,६ ठाउँमा एकतर्फी यातायात सुचारु


काठमाडौँ । देशभर वर्षा र पहिरोका कारण मुख्य राजमार्गका विभिन्न खण्डमा यातायात अवरुद्ध भएको छ।

नेपाल प्रहरीका अनुसार बिहान १० बजेसम्म १४ ठाउँमा यातायातमा समस्या देखिएको छ। तीमध्ये ८ स्थानमा सडक पूर्णरूपमा अवरुद्ध छन् भने ६ स्थानमा एकतर्फी यातायात सञ्चालन भइरहेको छ।

कोशी प्रदेशको संखुवासभा भोटखोलामा कोशी राजमार्ग पूर्ण अवरुद्ध छ। बागमती प्रदेशको रसुवामा नेपाल–चीन नाका जोड्ने पुल र सिन्धुपाल्चोकको कोदारी खण्डमा अर्निको राजमार्ग बन्द छ। गण्डकी प्रदेशको लमजुङमा बेसीसहर–मनाङ सडक खण्ड अवरुद्ध भएको छ भने लुम्बिनी प्रदेशको गुल्मीमा रिडी–वामी सडक पूर्णरूपमा बन्द छ।

कर्णाली प्रदेशको रुकुम पश्चिममा जाजरकोट–डोल्पा भेरी करिडोर सडक र सुदूरपश्चिम प्रदेशको बैतडीमा दशरथ चन्द राजमार्ग पनि अवरुद्ध भएका छन्।

एकतर्फी यातायात सञ्चालन काठमाडौँको काजीटोल, गण्डकी प्रदेशका बागलुङ, नवलपरासी पूर्व, मुसिकोट र तनहुँका सडक खण्डहरूमा जारी छ। लुम्बिनी प्रदेशको रोल्पामा सहिद राजमार्गमा पनि एकतर्फी सवारी सेवा सञ्चालनमा छन्।