दुग्धजन्य सामग्री विदेशबाट आयात भइरहेका छन्, नेपालमै उत्पादन गरेर प्रतिस्थापन गर्न लागौंः अध्यक्ष ढकाल


काठमाडाैँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा दुग्धजन्य वस्तुहरू विदेशबाट आयात भइरहेको बताउँदै त्यसलाई प्रतिस्थापन गर्नेगरी उत्पादन बढाउन जरुरी रहेको बताएका छन् ।

मंगलवार काठमाडौंमा आयोजना गरेको नेपाल डेरी एशोसिएशनले राजधानीमा गरेको खिर प्रवर्धन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले हस्पिटालिटी क्षेत्रले अहिलेपनि कतिपय ‘डेरि आइट’ हरु मुलुकबाहिरबाट मगाउनुपर्ने बाध्यता रहेको बताएका हुन् ।

उनकाअनुसार त्यो बाध्यतालाई हटाउँदै विश्वस्तरको मापदण्ड पूरा गर्दै नेपालमै दुग्धजन्य विभिन्न वस्तुहरु उत्पादन हुनुपर्छ । अध्यक्ष ढकालले दुग्धजन्य वस्तुहरू आयातमा करौडौं नेपाली मुद्रा बाहिर गइरहेको बताए। उनले दुधजन्य विभिन्न वस्तुहरू उत्पादन गरेरै ठूलो रकम बाहिर जानबाट जोगाउनुपर्ने बताए ।

उनकाअनुसार नेपालमा उत्पादित दुग्धजन्य वस्तुहरु गुणस्तरीयको मामिलामा कमजोर हुनुहुँदैन । अहिले पनि सरकारी कानूनहरु परम्परागत शैलीका रहेकाले त्यसलाई सुधार्न आफ्नो बितेको २ वर्षको कार्यकालमा पूर्ण रूपमा लागेको समेत अध्यक्ष ढकालले बताए ।

उनकाअनुसार अध्यादेशमार्फत धेरै कानूनहरु संशोधन गर्न सकिएको छ । आगामी दिनमा समेत बाँकी कानूनहरु संशोधनमा लैजानका लागि महासंघले लर्बिङ गर्नेछ । अध्यादेशमार्फत संशोधित कानूनसहित बजेट, मौद्रिक नीतिमार्फत गरिएका व्यवस्थाहरु यथाशक्य सरकारले कार्यान्वयनमा लैजानुपर्नेमा समेत ढकालले जोड दिए ।

उनले आन्तरीक उत्पादनलाई वृद्धिसँगै प्रयोग बढाउन महासंघले आवश्यक लर्बिङ गर्नेछ । कार्यक्रममा नेपाल डेरी एसाेसिएसनका अध्यक्ष प्रह्लाद दाहालले कृषि क्षेत्रको विकास हुन नसके यो देशले फड्को मार्न नसक्ने बताए ।

“यदी यो देशमा कृषि क्षेत्रको समस्या समाधान हुन सक्दैन भने यो देश विकास हुनै सक्दैन । राज्य गम्भीर होस् । हामी कृषिमा आत्मनिर्भर भयौं भने बाहिरीएको मुद्रा बचत हुनेछ । देशले फड्को मार्नेछ । कृषिमा आत्मनिर्भर बनाउन सरकार गम्भीर होस्,” उनले भने ।

अध्यक्ष दाहालले देशमा मही प्याकेटिङ गरेर उद्योगहरुले बजारमा ल्याइरहेको बताउँदै त्यसलाई राज्यले प्रवद्र्धन गर्न जोड दिनुपर्ने बताए। उनकाअनुसार मही अहिले राम्रो खपत भइरहेको छ । यसको खपत अझ बढाउन राज्यले सहयोग गर्नुपर्छ ।