लजिस्टिक क्षेत्रको सुधारबिनै समृद्ध नेपाल सम्भव छैनः अध्यक्ष संग्रौला


काठमाडौँ । नेपाल फ्रेट फरवार्डस एसोसिएसनका अध्यक्ष राजेन्द्र संग्रौलाले देशको समृद्धिको मूल कुञ्जी लजिस्टिक क्षेत्रमा रहेको बताएका छन्।

उनले लजिस्टिक प्रणाली सुदृढ नगरी नेपालले समृद्धि हासिल गर्न नसक्ने धारणा व्यक्त गर्दै लजिस्टिक लागत घटाउनु आवश्यक रहेकोमा जोड दिए ।

३१औं कार्गो डेका अवसरमा आज राजधानीमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष संग्रौलाले नेपाल जस्तो स्थलरुद्ध देशका लागि निकासी–पैठारी व्यापारलाई सहज, सस्तो र प्रतिस्पर्धी बनाउनु जरुरी रहेको बताए । “समुन्द्रपार व्यापारलाई सरल बनाउँदै लजिस्टिक लागत घटाउन, सुलभ सेवा प्रवाह गर्न तथा व्यवसायीका हकहितका लागि केही कानुनी संरचनामा सुधारको आवश्यकता छ,”उनले भने ।

उनले हालै सरकारले ल्याएको लजिस्टिक नीतिको स्वागत गर्दै उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र एसियाली विकास बैंकको सहकार्यमा तयार भएको लजिस्टिक मास्टर प्लानप्रति आशा व्यक्त गरे । “आधुनिक, सक्षम र एकीकृत व्यापार लजिस्टिक प्रणालीको स्थापना, लजिस्टिक लागत घटाउने र अन्तर्राष्ट्रिय व्यापारलाई प्रतिस्पर्धी बनाउने लक्ष्य स्वागतयोग्य छ,”उनले भने ।

नेपालको कुल ग्राहस्थ उत्पादनको झन्डै २० प्रतिशत हिस्सा लजिस्टिक लागतमै खर्च हुने उल्लेख गर्दै उनले यस्तो उच्च लागतले अन्तर्राष्ट्रिय व्यापारमा नेपालको प्रतिस्पर्धा घटाउने बताए। त्यसैले सार्वजनिक तथा निजी क्षेत्रबिचको सहकार्य र समझदारी आवश्यक रहेको उनको भनाइ छ ।

अध्यक्ष संग्रौलाले लजिस्टिक मास्टर प्लान तर्जुमा गर्दा हालको लजिस्टिक नीतिमा समेटिन नसकेका पक्षहरूलाई पनि समावेश गर्न सरकारसमक्ष आग्रह गरे ।