मधेसको समस्यामा सहयोग गर्न संघ संस्थालाई समाज कल्याण परिषद्को आह्वान


काठमाडाैँ । समाज कल्याण परिषद्ले विपद् संकटग्रस्त मधेस प्रदेशका समस्या सम्बोधनमा आफ्नो योजना केन्द्रित गर्न अन्तर्राष्ट्रिय संघ संस्थाहरूलाई आह्वान गरेको छ ।

परिषद्का अध्यक्ष समेत रहेका महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले मंगलवार मन्त्रालयमा संस्थाका प्रतिनिधिहरुलाई बोलाई नियमित गतिविधिसँगै मधेसमा खानेपानी र सिंचाईमा काम गर्न आह्वान गरेका हुन्।

उनले परियोजनाको कुल बजेटको २० प्रतिशत नबढ्ने गरी आपतकालिन कोषको मापदण्ड प्रयोग गर्न पनि निर्देशन दिए । समाज कल्याण परिषद्सँग साधारण सम्झौता भई कार्यन्वयनमा रहेका अन्तर्राष्ट्रिय गैरसंस्थाहरूको चालु परियोजनाहरूमा परियोजनाको कुल बजेटको २० प्रतिशत अर्थात १० करोड रुपैयाको सीमाभित्र रहने गरी परियोजना संशोधन गर्न पनि उनले आह्वान गरे ।

उनले संशोधन भई आएका प्रस्तावलाई समाज कल्याण परिषद्बाट द्रुत प्रक्रिया अवलम्वन गरी अनुमोदन गरिने प्रतिवद्धता पनि जनाए ।आपतकालिन कोष अन्तर्गत रही परियोजनाको कुल बजेटमा छुट्याईएको न्युनतम एक प्रतिशत आपतकालिन खर्चका सम्बन्धमा समाज कल्याण परिषद्लाई जानकारी गराई स्थानिय तहको समन्वय र सहकार्यमा उल्लेखित प्रयोजनमा खर्च गर्ने र सो खर्चको जानकारी परिषद्लाई गराउनुपर्ने व्यवस्था छ । मन्त्री सुडीले विद्यमान कानूनी प्रावधानभित्र रहेर काम गर्न पनि सचेत गराए।

अन्तर्राष्ट्रिय संस्थाहरुको छाता संगठन (एआईएन) का अध्यक्ष डाक्टर एसपि कलौनीले मधेस प्रदेश सरकारका मुख्य मन्त्रीको सुख्खाग्रस्त क्षेत्रमा तत्काल खानेपानी र सिंचाई पु¥याउन निर्देशनपछि नै आफूले प्रदेशमा नियिमति गतिविधि साथै खानेपानी र सिंचाईमा काम सुरू गरेको जानकारी दिए।

उनले सरकार र मातहतका विभिन्न निकायलाई रिपोर्टिङ गर्नुपर्दा समस्या हुने भएकाले परिषद्मार्फत नै सूचना आदान प्रदानको व्यवस्था मिलाई सहजिकरण गर्न पनि अनुरोध गरे ।

परिषद्का सदस्यसचिव मनोज भट्टले तत्कालका लागि पानी वितरण र सिंचाईका लागि काम गर्नुपर्ने भएपनि बहुक्षेत्रिय प्रभावको तथ्यांकका आधारमा तत्कालिन, मध्य र दीर्घकालिन योजनाअनुसार काम गर्न सबैलाई सचेत गराए ।कार्यक्रम दोहोरिन नदिने गरि प्रक्रिया सम्मत रूपमा काम गर्न उनले सबैलाई आग्रह गरे ।

सो अवसरमा एआईएनका अध्यक्ष डाक्टर कलौनीले विभिन्न संस्थाले अहिलेसम्म मधेसमा गरेका कामको प्रारम्भीक विवरणको जानकारी गराएका थिए । उनकाअनुसार, सेभ द चिल्डेन नेपालले सर्लाहीको ईश्वरपुर नगरपालिका वडा नम्बर १० मा दश हजार लिटर पानी ५ सय ३४ घरधुरीलाई वितरण गरेको, अक्सफाममार्फत रौतहटको चपुरमा २ सय घरधुरी, सर्लहीको हरिपुर, हरिवन र मलंगवामा २ सय घरधुरीलाई सेलो ट्युवेल र खानेपानी वितरण गरेका छन् ।

त्यसैगरी प्लान इनटरनेसनल नेपालले धनुषा सविला नगरपालिामा १ हाजर घरधुरीलाई पानीको जार वितरण गरेको छ ।वल्र्डभिजन इन्टरनेशनल नेपालले महोत्तरीको एकडारा र सम्सी गाउँपालिकामा क्रमशः ५५ र ३ सय १४ घरधुरी साथै सर्लाहीको हरिपुर्वामा ९३ र रौतहटको माधवनारायणमा ४२ घरधुरीलाई साना सिंचाई सहयोग गरेको छ ।

स्लामिक रिलिफबाट रौतहटको राजपुर र चुपरमा १ हजार धरधुरीको साथै बाराको महागडीमाई र सुवर्णमा ५० घरधुरीलाई पुग्ने डिप बोरिङ राख्ने काम भएको छ ।

संकटग्रस्त क्षेत्रमा यसअघि नै राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणको समन्वयमा र बेलायत सरकार अन्तर्गत सञ्चालित स्टार्ट फण्ड नेपाल परियोजना कार्यान्वयनमा आइसकेको छ । यो परियोजना ८ वटै जिल्लामा सञ्चालन छ । यसले खानेपानी र सिंचाईका लागि काम गरिरहेको छ ।