अर्थतन्त्र चलायमान बनाउन सरकारले व्यक्तिको खातामा पैसा हाल्न सक्नुपर्छः पूर्वगभर्नर नेपाल


काठमाडाैँ । पूर्वगभर्नर चिरञ्जीवि नेपालले विकासित देशहरुमा सरकारले अर्थतन्त्रलाई चलायमान बनाउन व्यक्तिको खातामा पैसा पठाइदिने गरेपनि नेपालमा कहिल्यै त्यस्तो नभएको बताएका छन् ।

नेपाली काँग्रेस वित्तीय संस्था समन्वय विभागले आयोजना गरेको वर्तमान अवस्थामा देशको वित्तीय तथा मौद्रिक स्थिति विषय अन्तरक्रियामा उनले अर्थतन्त्रलाई चलायमान बनाउन सरकारले खर्च गर्न व्यक्तिको खातासम्मै पैसा हाल्न सक्नुपर्ने बताएका हुन् ।

उनकाअनुसार विस्तारकारी वित्तीय र मौद्रिक नीतिले मात्रै अर्थतन्त्रलाई गति दिनसक्छ । अहिले सरकारले लिएको वित्तीय नीति र मौद्रिक नीति लचक रहेको पूर्वगभर्नर नेपालले बताए ।

पूर्वगभर्नर नेपालकाअनुसार मौद्रिक नीतिले धेरै लचकता लिएको छ । यसले मुलुकको अर्थतन्त्रलाई चलाउने छ । यद्यपि लचिलो मौद्रिक नीतिकाका कारण जोखिमहरु पनि धेरै रहेको उनले बताए । पूर्वगभर्नर नेपालकाअनुसार ब्याजदर घट्दा पनि ऋण प्रवाह बढ्न नसक्नु, धेरै पैसा बजारमा थ्रुपिनु सकारात्मक हाेइन ।


पूर्वगभर्नर नेपालले भने, “भोलिका दिनमा पैसा उपभोगमा मात्रै गयो भने आयात बढेर फेरि विदेशी सञ्चितिमा बढी दबाब पर्ने त होइन । हामीलाई हिजोका दिनमा विदेशी सञ्चितिमा असर पर्दा के भएको थियो, त्यसको हेक्का समेत राख्नुपर्छ । भोलिका दिनमा उपभोक्ताहरुले थेरै ब्याजदर भयो भन्दै बैंकबाट निक्षेप निकालेर  अब हामी यसलाई उपभोग गर्छौं भन्न थाले भने ब्याजदर बढ्नसक्छ । लामोसमयसम्म लगानी गर्नका लागि न्युन ब्याजदर कहिलेसम्म रहन्छ भन्ने हामीले हेर्नुपर्ने स्थीति छ ।”

भोलीका दिनमा दक्षिण कोरीया, जापनमा लामोसमयका लागि श्रमिकहरुलाई दिइने स्कील दिने र श्रमिकहरुलाई त्यही राख्ने र उनीहरुको परिवारलाई पनि लैजान दिने नीति लिइरहेको उनले बताए ।

खाडी मुलुकहरुमा भिल्ला अर्थात ग्रामिण एरियामा फर्म किनेर श्रमिकहरुलाई त्यही राख्ने नीति लिइरहेकोले भाेलीकाे दिनमा हाम्रा नेपाली श्रमिकहरु त्यहिँ बस्न थाले भने रेमिट्यान्स नआउने हो की भन्ने चिन्ता रहेकाे उनले उल्लेख गरे ।

उनका अनुसार रेमिट्यान्समा धेरै ब्याजदर सम्बन्धित देशले दिन थाले पुँजी नआउने हो भन्ने अवस्था छ । उनले हाम्राे खुला नाका भएका कारण नाकाका मान्छेहरूले नेपालमा ब्याजदर कम भयो भने भारतीय बैंकमा पैसा लगेर राख्ने गरेकाे बताए । उनले उता पुँजी पलायन भएर हामीकहाँ तरलता अभाव हुने हो की भन्ने आशंका व्यक्त गरे ।

“अर्थतन्त्र चलायमान नभएका बेला विस्तारकारी ठूलो बजेट चाहिन्छ । ठूला आयोजनामा लगानी गर्ने बजेट, करका दर घटाउने बजेट चाहिन्छ । त्यतिमात्रै नभई विकसित देशमा कतिको खातामै सरकारले खर्च गर भनेर पैसा नै पठाइदिन्छ । त्यस्तै नेपालमा पनि सरकारको बजेटबाट त्यसो गर्न सक्नुपर्छ,” उनले भने ।

उनले विगतमा स्टीमुलस प्याकेज ल्याएर अर्थतन्त्र सुधार्नुपर्नेमा सरकारहरु चुकेको बताए । अर्थतन्त्र सुधार्न सरकारले कर छुटदेखि लगानी प्रवद्र्धनका निम्ति विभिन्न कार्यक्रमहरु ल्याउनुपर्छ । विस्तारकारी बजेटसँगै मौद्रिक नीति दुवै आउनुपर्छ । अहिले आएको विस्तारकारी मौद्रिक नीतिले पार्ने प्रभावका बारे केही दिनमै थाहा हुने उनले उल्लेख गरे ।