काठमाडौँ । बागमती विश्वविद्यालयले आफ्ना शैक्षिक कार्यक्रम सञ्चालनका लागि अन्तिम तयारी गरेको छ ।
आङ्गिक क्याम्पसका लागि २५ क्याम्पसको निवेदन परेकोमा १० ओटा छनौट गरेर ५ क्याम्पसको विस्तृत मूल्याङ्कन प्रतिवेदन तयार गरेको बागमती प्रदेश विश्वविद्यालयले २०८२ भदौंबाटै भर्ना लिने तयारी गरेको हाे ।
आङ्गिक क्याम्पस छनौट गर्ने प्रस्ताव मन्त्रिपरिषद्मा पेश भएको छ । विश्वविद्यालयका उपाध्यक्ष डा.कुसुमराज सुवेदीले भने,“प्रस्ताव मन्त्रिपरिषद्मा गएको जानकारी आएको छ । सम्भवत : अब बस्ने क्याबिनेट बैठकबाट निर्णय हुन्छ होला ।”
बागमती विश्वविद्यालयको आर्थिक वर्ष २०८१/८२ को प्रतिवेदनअनुसार ५ ओटा क्याम्पसको विस्तृत मूल्याङ्कन प्रतिवेदन (डिडिए) तयार भएको छ ।


वार्षिक प्रतिवेदन अनुसार हेडौंडामा रहेको हेटौंडा क्याम्पस, काठमाडौँ कपनमा रहेको कपन बहुमुखी क्याम्पस, चितवनको खैरहनीमा रहेको भुवानी शंकर बहुमुखी कलेज, काठमाडौँ कुलेश्वरमा रहेको जनमैत्री बहुमुखी क्याम्पस र चितवनको माडीमा रहेको माडी क्याम्पसको डिडिए प्रतिवेदन तयार भएको छ ।
बागमती प्रदेश सरकारमा किचलो देखिएपछि विश्वविद्यालयको काम प्रभावित हुनसक्ने आकलन भइरहेको छ । उपाध्यक्ष सुवेदीले भने ढिलो नहुने बताए । उनले भने ,“अब ढिलो नहोला, आगामी मन्त्रिपरिषद् बैठकबाटै निर्णय हुन्छ भन्ने आशा छ । ”
विश्वविद्यालयले १० वटा नयाँ शैक्षिक कार्यक्रमको पाठ्यक्रम निर्माण भैसकेको र ३ वटा पाठ्यक्रम निर्माणको चरणमा रहेको जनाएको छ ।
प्रदेश सरकारबाट आङ्गिक क्याम्पसको स्वीकृति प्राप्त हुनासाथ विश्वविद्यालयको शैक्षिक पात्रो निर्माण गरी अगाडि बढ्ने तयारी छ ।
विश्वविद्यालय कार्यकारी परिषदले विश्वविद्यालयका ३ ओटा विनियमहरू पारित गरेर उच्च शिक्षा परिषदबाट स्वीकृतका लागि सामाजिक विकास मन्त्रालयमा पेश गरेको छ ।
विश्वविद्यालयका अनुसार बागमती प्रदेश विश्वविद्यालय सङ्गठन तथा शैक्षिक प्रशासनसम्बन्धी विनियम, २०८१, बागमती प्रदेश विश्वविद्यालय शिक्ष,कर्मचारी सेवासम्बन्धी विनियम,२०८१ र बागमती प्रदेश विश्वविद्यालय आर्थिक प्रशासनसम्बन्धी विनियम,२०८१ उच्च शिक्षा परिषद्बाट पारित हुन बाँकी छ ।
परिषद्को अध्यक्ष मुख्यमन्त्री र उपाध्यक्ष सामाजिक विकास मन्त्री रहने व्यवस्था छ । पछिल्ला एक वर्ष यता परिषद्को बैठक भने बस्न सकेको छैन ।
शैक्षिक शत्र सुरु गर्ने तयारी गरिरहँदा बागमती प्रदेश सरकारभित्र देखिएको किचलोले आशङ्का समेत देखिएको छ ।
कांग्रेसबाट मुख्यमन्त्री बनेका बहादुर सिंह लामालाई हटाउन कांग्रेसकै इन्द्र बानियाँ समुह लागेपछि सरकारको भविष्य अन्योलमा छ । यद्यपी लामाले अहिलेकै सरकारलाई निरन्तरता दिने कसरत गरिरहेका छन् ।
मन्त्रिपरिषद बैठकले आङ्गिक क्याम्पसहरूको निर्णय गरेपछि आवश्यक विनियमावली पनि तत्कालै परिषद्बाट पारित हुने वातावरण बन्ने उपाध्यक्ष डा. सुवेदीको विश्वास छ ।
प्रतिक्रिया दिनुहोस्