२३.६९ खर्ब पुग्यो सार्वजनिक ऋण


काठमाडौँ । सरकारले तिर्नुपर्ने ऋण २६ खर्ब माथि पुगेको छ । सार्वजनिक ऋण व्यवस्थापक कार्यालयको प्रतिवेदन अनुसार आर्थिक वर्ष २०८१/८२ मा सरकारले तिर्न बाँकी ऋण २ अर्ब ३१ अर्ब रुपैयाँले बढेर २६ खर्ब ६९ अर्ब ५७ करोड रुपैयाँ पुगेको छ।

कुल सार्वजनिक ऋणमा असार मसान्तसम्म वैदेशिक ऋणको हिस्सा ५२.४९ प्रतिशत तथा आन्तरिक ऋणको हिस्सा ४७.५१ प्रतिशत रहेको छ ।

कुल गार्हस्थ उत्पादनको आधारमा आन्तरिक ऋण २२.१४ र बाह्य ऋण २४.५६ प्रतिशत हुन आउँछ । कार्यालयका अनुसार गत आवमा मात्रै २ खर्ब ३१ अर्ब ८ करोड सार्वजनिक ऋण थपिएको छ ।

गत आर्थिक वर्षमा सरकारले आन्तरिक ऋण शतप्रतिशत उठाउँदा बाह्य ऋण भने ५७ प्रतिशत हाराहारी मात्रै उठाउन सकेको प्रतिवेदनमा उल्लेख छ ।

गत आवमा सरकारले १ खर्ब २५ अर्ब ३९ करोड ९९ लाख मात्रै बाह्य ऋण उठाएको छ । सरकारले उक्त आवमा ३ खर्ब ३० अर्ब आन्तरिक ऋण र २ खर्ब १७ अर्ब बाह्य ऋण गरी कुल ५ खर्ब ४७ अर्ब सार्वजनिक ऋण परिचालन गर्ने लक्ष्य लिएको थियो ।

त्यस्तै, गत आवमा सरकारी ऋणको साँवा ब्याज भुक्तानीका लागि ४ खर्बभन्दा बढी खर्च भएको छ ।

आव २०८१/८२ मा ऋण सेवा खर्चमा ४ खर्ब २ अर्ब ८५ करोड विनियोजन भएकोमा असार मसान्तसम्म ३ खर्ब ६२ अर्ब ५९ करोड भुक्तानी भएको छ । यो वार्षिक बजेट विनियोजनको आधारमा ९०.०१ प्रतिशत हो ।