काठमाडाैँ । पाेखराकाे लेकसाइडस्थित स्ट्रिट नम्बर १३ मा ‘बगैँचा रिसोर्ट तथा स्पा’ आजदेखि औपचारिक रूपमा सञ्चालनमा आएको छ ।
अंशुभरा ग्रुपको लगानीमा बनेको यो रिसोर्टलाई बुधबार परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले उद्घाटन गरेकी हुन्।
प्रकृति, संस्कृति र आधुनिकता मिसिएको शैलीमा निर्माण गरिएको बगैँचा रिसोर्ट वातावरणमैत्री अवधारणासहित निर्माण गरिएको हो। नेपाली वास्तुकला, कला र जीवनशैलीलाई समेट्ने उद्देश्यसहित सञ्चालनमा ल्याइएको यो रिसोर्टले पर्यटक तथा सेवाग्राहीलाई शान्त जीवनशैलीको अनुभूति दिने लक्ष्य लिएको बताइएको छ।
रिसोर्टका निर्देशक साैगात थापाका अनुसार मानिसलाई प्रकृतिसँग नजिक बनाउने सोचका साथ यो हस्पिटालिटी व्यवसायको सुरुवात गरिएको हो। उनले भने, “यहाँ आउने पाहुनाले चाहेका सम्पूर्ण सुविधा पाउने छन्। वातावरणमैत्री सामग्रीको प्रयोग गरेर प्राकृतिक सन्तुलनमा असर नपर्ने व्यवस्था मिलाइएको छ।”
रिसोर्टको नामअनुसार स्पा सेवासमेत उपलब्ध गराइएको छ। यहाँ नेपाली पारम्परिक मसाज, साउन्ड हेलिङ्ग, सिङ्गिङ बाउल थेरापी, योग अभ्यास र मानसिक पुनःस्थापनामा केन्द्रित सुविधा प्रदान गरिने जानकारी उनले दिए।
बगैँचामा दुई रेस्टुरेन्ट रहेको छ । ‘मरिच’ जसले इन्डो–चाइनीज र कन्टिनेन्टल खानाका परिकार पस्कनेछ भने ‘उमामी रेस्टुरेन्ट’ मार्फत परिष्कृत प्यान–एशियन स्वादको अनुभव लिन सकिनेछ। साथै, “टारो” नामको पूलसाइड बार बगैँचाको थप आकर्षण बनेको छ।
रिसोर्टमा स्ट्यान्डर्ड रुम, एक्जिक्युटिभ रुम, आर्बर सुइट र बगैँचा सुइट गरी चार प्रकारका कोठाहरू रहेका छन्। सबै ३२ वटा कोठामा निजी बाल्कोनी रहेकाले पाहुनाले हरियाली वातावरणको प्रत्यक्ष अवलोकन गर्न सक्नेछन्। थापाका अनुसार यहाँका कोठाहरूको दर १५० देखि ३५० अमेरिकी डलरसम्म रहनेछ । करिब साढे चार रोपनी क्षेत्रफलमा फैलिएको यो रिसोर्ट ७० करोड रुपैयाँको लागतमा निर्माण सम्पन्न भएको हो।
प्रतिक्रिया दिनुहोस्