साउन १५ मा ८० लाख लिटर दूधको खपत हुने डेरी एसोसिएसनको अनुमान


काठमाडौँ । नेपाली मौलिक पर्व साउन १५ का अवसरमा खीर खाने परम्पराले देशभर दूधको खपत उल्लेखनीय रूपमा बढ्ने अनुमान गरिएको छ । नेपाल डेरी एसोसिएसनका अनुसार यस वर्ष साउन १५ मा मात्र देशभर करिब ८० लाख लिटर दूधको खपत हुने अनुमान गरिएको छ ।

उक्त खपतबाट करिब १ अर्ब ४० करोड रुपैयाँ बराबरको कारोबार हुने अपेक्षा गरिएको एसोसिएसनले जनाएको छ ।

खीर दिवसका रूपमा मनाइने यस अवसरमा नेपाली परिकारको प्रवर्धनसँगै दूध तथा दुग्धजन्य वस्तुको खपतमा उल्लेखनीय वृद्धि हुँदै आएको हो । यो कार्यक्रमले किसानद्वारा उत्पादित दूधको उपभोग बढाउँदै दुग्ध व्यवसायमा प्रत्यक्ष सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरिएको छ ।

एसोसिएसनका अनुसार खीर केवल स्वादको परिकार मात्र नभई स्वास्थ्यका दृष्टिकोणले पनि लाभदायक भएकाले यसको लोकप्रियता बढ्दो छ । पारिवारिक एकता, परम्परा संरक्षण र आन्तरिक उत्पादनको प्रवर्द्धनमा योगदान पुर्‍याउने खीर दिवसलाई आगामी दिनमा अझ सशक्त रूपमा मनाउनुपर्नेमा समेत एसाेसिएसनले जोड दिइएको छ ।