दोहोरो आइजिनमा साेपानको आपत्ति, ऊर्जा र लगानी क्षेत्रमै असर पर्ने चेतावनी


काठमाडाैँ । सौर्य ऊर्जा उत्पादकहरूको संस्था नेपाल (साेपान) ले प्रवर्द्धक शेयरहरूका लागि सिडिएस एण्ड क्लियरिङ लिमिटेड (सिडिएससी ) द्वारा प्रस्ताव गरिएको नयाँ आइजिन (इन्टरनेसनल सेक्युरिटिज आइडेन्टिफिकेसन नम्बर) वर्गीकरणप्रति आपत्ति जनाउँदै उक्त व्यवस्था पुनर्विचार गर्न माग गरेको छ।

सिडिएससीले प्रारम्भिक सार्वजनिक प्रस्ताव (आइपिओ ) मा जाने कम्पनीका प्रवर्द्धक शेयरहरूलाई अलग आइजिन कोड दिई दोस्रो बजारमा कारोबार गर्न नपाउने व्यवस्था ल्याउने तयारी गरेको छ। साेपानले यो प्रस्तावले लगानीको प्रवाहमा बाधा सिर्जना गर्ने भन्दै चिन्ता व्यक्त गरेको हो।

“प्रवर्द्धक शेयरको तरलता सीमित बनाउँदा ऊर्जा र पूर्वाधार क्षेत्रमा दीर्घकालीन र धैर्यशील पूँजीको प्रवाह रोकिँछ, जसले नेपालका राष्ट्रिय विकास लक्ष्यमा प्रतिकूल असर पार्छ,”जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

नेपालले सन् २०३५ भित्र २८ हजार ५ सय मेगावाट नवीकरणीय ऊर्जा उत्पादन गर्ने लक्ष्य लिएको सन्दर्भमा साेपानले यस्तो नीति परिवर्तनले उच्च जोखिम बोकेको लगानीमा निराशा पैदा गर्ने उल्लेख गरेको छ।

साेपानले विदेशी प्रत्यक्ष लगानीमा समेत यसले नकारात्मक प्रभाव पार्ने चेतावनी दिएको छ। “प्रस्तावित नियमले लाभांश तथा व्यापारिक आम्दानी विदेश पठाउन कठिनाइ उत्पन्न गर्छ, जसले विदेशी लगानीकर्ताको विश्वासमा क्षति पुर्‍याउँछ,”विज्ञप्तिमा उल्लेख छ ।

यस्तै, सरकार आर्थिक वृद्धि र दिगो विकास लक्ष्य प्राप्तिका लागि प्रयासरत रहँदा नियामक निकायहरूबाट नीतिगत असंगति आउनु चिन्ताजनक रहेको साेपानकाे भनाइ छ।

साेपानले ऊर्जा र पूर्वाधार क्षेत्रलाई दीर्घकालीन लगानीको मेरुदण्डका रूपमा लिँदै यस्तो प्रतिगामी प्रस्तावले हाल देखिएको लगानी उत्साहमै कुठाराघात गर्ने चेतावनी दिएको छ। “सुन फलाउने कुखुरालाई जोगाउने सट्टा मार्ने जस्तो कार्य हो यो,” विज्ञप्तिमा भनिएको छ।

सोही विषयमा स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) ले पनि हिजो (मंगलबार) एक विज्ञप्ति जारी गर्दै सिडिएससी को प्रस्तावको विरोध जनाएको थियो। इप्पानले सो प्रस्तावले ऊर्जा क्षेत्रमा लगानी जोखिममा पार्ने चेतावनी दिएको छ।