काठमाडौँ । काठमाडौँ महानगरपालिकाले वर्षायामसँगै तीव्र रूपमा फैलिन सक्ने डेङ्गी र हैजा रोगको रोकथाम तथा नियन्त्रणका लागि ३२ वटै वडामा समेटिनेगरी विशेष अभियान सञ्चालन गर्ने भएको छ।
महानगरको स्वास्थ्य विभागले बहुक्षेत्रीय समन्वय र सामुदायिक सहभागितामा आधारित कार्ययोजना तयार पारेको छ। विभागका प्रमुख डा.दीपककुमार केसीका अनुसार लामखुट्टेको लार्भा नष्ट गर्ने अभियानलाई प्राथमिकता दिइएको छ। त्यसअनुसार पानी जम्ने खाल्डाखुल्डी पुर्ने, टायर तथा भाँडाजस्ता वस्तु हटाउने, सार्वजनिक स्थान तथा पार्कहरूमा सरसफाइ गर्ने काम हुने छ।
डा. केसीले वातावरण व्यवस्थापन विभागसँगको समन्वयमा लामखुट्टेको वासस्थान बन्न सक्ने स्थानहरूको पहिचान गरी तत्काल हटाइने जानकारी दिए । साथै शहरी व्यवस्थापन विभागसँग मिलेर निर्माण सामग्रीहरू अव्यवस्थित रूपमा राखिएका स्थानको व्यवस्थापन गरिनेछ।
अभियानमा महानगर प्रहरी, विपद् व्यवस्थापन विभाग, रेडक्रस, युथ ग्रुप, वडा कार्यालय, सामुदायिक प्रहरी, स्वास्थ्य प्रवर्द्धन केन्द्र, स्थानीय क्लब र स्वयंसेवकहरूको व्यापक संलग्नता रहनेछ।
महामारी रोग रोकथाम तथा नियन्त्रणका फोकल पर्सन ऋषिप्रसाद भुसालका अनुसार प्रत्येक शुक्रबार बिहान ९ः३० देखि १० बजेसम्म सबै कार्यालय परिसरमा लामखुट्टेको लार्भा खोजी गरी नष्ट गरिने कार्यक्रम नियमितरूपमा सञ्चालन हुनेछ। साथै निजी क्षेत्रलाई पनि सहभागी हुन आग्रह गरिएको छ।
५३ वटा सरकारी तथा निजी अस्पतालहरूलाई परिसर सरसफाइ र लार्भा नष्ट गर्न निर्देशन दिइने भएको छ। निजी अस्पतालहरूले स्पष्ट तथ्याङ्क नदिँदा डेङ्गी संक्रमितको संख्या यकिन गर्न कठिन भएकाले समन्वयात्मक पहल गरिने भुसालले बताए ।
हैजा नियन्त्रणका लागि खानेपानीको गुणस्तरमा विशेष ध्यान दिइँदै जारको पानी ढुवानीमा प्लास्टिक र्याप, स्टिकर अनिवार्य गर्ने र नागरिकलाई पानी उमालेर वा क्लोरिन प्रयोग गरेर मात्र सेवन गर्न सुझाव दिइएको छ।
विद्यालय तहमा पनि सचेतना कार्यक्रम सञ्चालन गरिएको छ। हालसम्म कक्षा ७ देखि १० सम्मका विद्यार्थीलाई डेङ्गी तथा हैजासम्बन्धी अभिमुखीकरण दिइएको छ भने सबै वडामा हैजा नियन्त्रणसम्बन्धी कार्यक्रम सम्पन्न भइसकेको छ। प्रत्येक विद्यालयमा स्वास्थ्य नेतृत्वकर्ता तोक्ने कार्यसमेत अघि बढाइएको छ।
वर्षा यामभर सञ्चालन हुने यो अभियानमा खाद्य प्रविधि, खानेपानी, ढल व्यवस्थापन विभाग र जनस्वास्थ्य कार्यालयसँगको समन्वयमा खानपान तथा पानीको गुणस्तर जाँचलाई तीव्र बनाइनेछ। नदी तथा खोलामा तरकारी पखाल्ने र ढल मिसाउने कार्य रोक्न र पानीपुरी, चटपटेजस्ता खाद्य वस्तुको प्रयोग नियन्त्रण गर्नसमेत पहल गरिनेछ।
यो अभियान साउन ७ गतेदेखि सुरु भई विभिन्न चरणमा अघि बढ्दैछ। साउन ९ देखि लार्भा खोजी र नष्ट गर्ने, साउन १३ मा सरोकारवालासँग बैठक र साउन १६ देखि २० सम्म ३२ वटै वडामा स्वयंसेवक तथा स्वास्थ्यकर्मी परिचालन गरिनेछ।
“लार्भा नष्ट नगरी डेङ्गी नियन्त्रण सम्भव छैन, औषधि छर्केर समाधान हुँदैन,” भुसालले बताए । साथै, काठमाडौँ महानगरपालिकाले नागरिकका लागि स्वास्थ्यसम्बन्धी गुनासो सुन्न र जानकारी दिन २४ सै घण्टा निःशुल्क हटलाइन नम्बर ११८० सञ्चालनमा राखेको जनाएको छ।
प्रतिक्रिया दिनुहोस्