नेपाल विविधतापूर्ण संस्कृतिको धनी देश होः मन्त्री पाण्डे


काठमाडाैँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले नेपाल विविधतापूर्ण संस्कृतिको धनी देश भएको बताएका छन् ।

बिहीवार काठमाडौंमा सातौं राष्ट्रिय खिर खाने दिवसको (साउन १५) को अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपालमा विभिन्न चाडपर्व, संस्कृति, रितिरिवाज, भाषा, भेषभुषा रहेको र नेपाल सांस्कृतिक रुपले पनि धनी रहेको बताएका हुन् ।

नेपाल बहुसांस्कृतिक देश भएको बताउँदै नेपालीहरुले खाने खानपान र लगाउने भेषभुषाहरु संस्कृतिसँग मात्रै नभइ विज्ञान, जीवनदर्शनसँग सम्बन्धित रहेको उनले बताए । असार १५ मा बलियो बन्नका दहि खाइने र उर्जाशिल भएर काम गर्ने र साउन १५ मा खेतीपाती सकिसकेपछि स्वस्थ रहन र चिसोमा भिजेको शरीरलाई न्यानो बनाउन खिर खाने परम्परा रहेको उनकाे भनाइ छ ।

मन्त्री पाण्डेले यस्ता पर्वहरुले नेपालको मौलिक पहचान, संस्कृतिलाई प्रवद्र्धन गर्ने र नयाँ पुस्ताले पनि ग्रहण गर्दै जानुपर्ने बताए ।