स्याङ्जामा लागू पदार्थ सेवन गरी सवारी चलाउने तीन चालक नियन्त्रणमा


काठमाडाैँ । जिल्ला प्रहरी कार्यालय स्याङ्जाले लागू पदार्थ सेवन गरेर सवारी साधन चलाउने तीन जना चालकलाई नियन्त्रणमा लिएको छ ।

सवारी दुर्घटना न्यूनीकरण तथा यात्रा थप सुरक्षित, मर्यादित र भरपर्दो बनाउने उद्देश्यले संचालन गरिएको ‘लागू पदार्थ सेवन चेकिङ अभियान’ अन्तर्गत साउन १४ गते वालिङबाट खटिएको प्रहरी टोलीले गल्याङ नगरपालिका वडा नम्बर ३ स्थित चौकीलाइन क्षेत्रमा चेकजाँचका क्रममा उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

प्रहरीले जाँच गर्ने क्रममा निजी तथा सार्वजनिक सवारी साधनका चालकहरूले लागूऔषध सेवन गरेको पाइएको थियो । प्रारम्भिक परीक्षणमा लागू पदार्थ सेवन गरेको पुष्टि भएपछि तीनै जनालाई नियन्त्रणमा लिइएको हो । त्यसपछि जिल्ला प्रशासन कार्यालय स्याङ्जाबाट १० दिनको म्याद थप गरी कानुनी प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा वालिङ नगरपालिका–६ निवासी २६ वर्षीय मिलन राना (ग १ क ५०५७ नम्बरको टिप्पर चालक), गल्याङ नगरपालिका–८ निवासी २६ वर्षीय सनिप गाहा (ग १ ज २६९० नम्बरको जिप चालक) र गल्याङ नगरपालिका–२ गराङ्दी निवासी २८ वर्षीय आशिष थापा (लु ४३ प ९०६० नम्बरको मोटरसाइकल चालक) रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय स्याङ्जाले लागू पदार्थ सेवन गरी सवारी सञ्चालन गर्नेहरूमाथि निगरानी बढाउने र यस्ता अभियानलाई थप प्रभावकारी बनाउँदै लैजाने जनाएको छ।