काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सुनकोशी मरिन डाइभर्सनको काम निर्धारित समयमा सम्पन्न हुन नसक्ने अवस्था उत्पन्न भएको भन्दै चिन्ता व्यक्त गरेका छन् ।
बिहीवार पार्टीको केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले काममा अत्यधिक ढिलाइ भइरहेकाले यस गति अनुसार अगाडि बढेमा २५ वर्षसम्म पनि आयोजना पूरा नहुने चेतावनी दिए।
“तीन वर्षमै सकिनुपर्ने आयोजना पाँच–छ वर्ष पुग्दा पनि अगाडि बढ्न सकेको छैन”, उनले भने, “ठेकेदार कम्पनी र मन्त्रालयसँग बारम्बार बैठक बसेर निर्देशन दिँदै आएको छु, अझै पनि कामको गति सन्तोषजनक छैन।”
प्रधानमन्त्री ओलीले जलवायु परिवर्तनका कारण देशमा सिंचाई समस्या झनै गम्भीर बन्दै गएको उल्लेख गरे । उनले भने, “तराई–मधेस अन्नको भण्डार हो भनिए पनि पानीको अभावले हालसम्म ५० प्रतिशतभन्दा बढी रोपाईं हुन सकेको छैन।” उनले देशभरको २५ लाख हेक्टर सिंचाईयोग्य जमिनमध्ये १५ लाख हेक्टरमा मात्र सिंचाई पुगेको र सबै सिजन सिंचाई गर्न सकिने व्यवस्था जम्मा ५ लाख हेक्टरमा मात्र रहेको जानकारी दिए ।
उनले सबै महिनामा सिंचाई पुर्याउनका लागि पाँच गुणा बढी मेहनत गर्नुपर्ने र अझै ४० प्रतिशत काम सिजनल सिंचाई सुनिश्चित गर्न आवश्यक रहेको बताए । प्रधानमन्त्री ओलीले साउन १५ जस्तो पर्व सबै नेपालीले खुशीसाथ मनाउन सकून् भन्ने वातावरण तयार पार्न सरकार प्रयासरत रहेको पनि बताए ।
उनले ठेकेदार कम्पनीलाई निरन्तर दबाब दिइरहेको र आयोजना छिटो सम्पन्न गर्न आफूले दुईपटकसम्म मन्त्रालय र कम्पनीका प्रतिनिधिहरूसँग छलफल गरिसकेको जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्