काठमाडौँ । सरकारको पहलमा आज साउन १६ गते पहिलो राष्ट्रिय कोदो दिवस मनाइँदैछ । कोदोजन्य बालीहरूको आयात रोक्ने, उत्पादन तथा उत्पादकत्व बढाउने र साना किसानहरूको आयआर्जन वृद्धि गर्ने उद्देश्यले दिवस मनाउन लागिएको हो ।
कृषि विभागका महानिर्देशक प्रकाशकुमार सञ्जेलको अध्यक्षतामा गठन गरिएको प्रथम राष्ट्रिय कोदो दिवस मूल आयोजक समितिले ‘कोदोजन्य परिकारको आहारः खाद्य सुरक्षा र स्वस्थ जीवनको आधार’ भन्ने नारा तय गरेको छ ।
विभागका महानिर्देशक सञ्जेलले दिगो विकास लक्ष्य हासिल गर्न, जलवायु परिवर्तनबाट हुने असर कम गर्न र जैविक विविधता जोगाउँदै खाद्य प्रणाली रुपान्तरण गर्न दिवस महत्त्वपूर्ण हुने बताए ।
कृषि विभागका अनुसार आर्थिक वर्ष २०८१/८२ मा करिब १८ हजार ३१६ मेट्रिक टन कोदोजन्य उत्पादन आयात गरिएको छ, जसको मूल्य करिब रु ७६ करोड ६३ लाख ८६ हजार रहेको छ । आयात न्यूनीकरणका साथै कोदो उत्पादनलाई प्रवर्द्धन गर्न सरकारले यो दिवस मनाउन थालेको हो ।
दिवसका अवसरमा चाँगुनारायण नगरपालिका–ताथलीमा कोदो रोपाइँ, कृषक, राष्ट्रिय कृषक समूह महासङ्घ र पत्रकारलाई पुरस्कार तथा कदरपत्र वितरण जस्ता कार्यक्रम आयोजना गरिने विभागले जनाएको छ । साथै, प्रदेश र स्थानीय तहहरूले पनि विविध कार्यक्रम सञ्चालन गर्ने तयारी गरेका छन् ।
महानिर्देशक सञ्जेलका अनुसार रासायनिक मलखाद र विषादीको प्रयोग नगरी वा कम गरेर पनि कोदोको औसत उत्पादन लिन सकिने भएकाले यसले हानिकारक हरितगृह ग्यास उत्सर्जन कम गर्न मद्दत पुग्ने र जलवायु परिवर्तन न्यूनीकरणमा योगदान पुर्याउने विश्वास गरिएको छ । विभागले दिवसका सबै तयारी पूरा भएको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्