कोदोलाई खाद्य सुरक्षाको आधारका रूपमा अगाडि बढाउने सचिव शर्माको प्रतिबद्धता


काठमाडौँ । ‘कोदोजन्य परिकारको आहारः खाद्य सुरक्षा र स्वस्थ जीवनको आधार’ भन्ने नारासहित आज देशभर प्रथम राष्ट्रिय कोदो दिवस २०८२ मनाइँदैछ। दिवसको अवसरमा कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डा.गोविन्द प्रसाद शर्माले शुभकामना सन्देश जारी गर्दै कृषकहरूलाई दिवसको शुभकामना व्यक्त गरेका छन्।

सचिव शर्माले शुभकामना सन्देशमार्फत कोदोलाई नेपालको खाद्य प्रणालीमा एक महत्वपूर्ण बालीको रूपमा व्याख्या गर्दै यसको खेतीलाई विस्तार गर्न जोड दिएका छन्। उनका अनुसार कोदो पूर्वदेखि पश्चिमसम्म हिमाल, पहाड, भित्री मधेश र तराईसम्म विभिन्न भू-भागमा खेती गरिने बाली हो। धान, मकै र गहुँपछि उत्पादनको हिसाबले कोदो चौथो स्थानमा रहेको बाली हो।

कोदोजन्य बालीहरू सुक्खा, खडेरी र उच्च तापक्रममा पनि टिक्न सक्ने क्षमता राख्ने भएकाले जलवायु अनुकूलित बालीका रूपमा चिनिन्छन्। रासायनिक मलखाद बिना पनि सन्तोषजनक उत्पादन लिन सकिने, रोग र किराको प्रभाव न्यून हुने र कम उर्वर तथा असिंचित पाखोबारीमा समेत खेती गर्न सकिने गुणका कारण कोदो नेपालको सन्दर्भमा विशेष महत्त्वपूर्ण रहेको सचिव शर्माको भनाइ छ।

मन्त्रालयको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०८०/८१ मा देशभर २ लाख २४ हजार ९३५ हेक्टर क्षेत्रफलमा कोदोजन्य बालीको खेती भई ३ लाख मेट्रिक टनभन्दा बढी उत्पादन भएको छ। तर प्रति हेक्टर उत्पादकत्व १.३३ मेट्रिक टनमा सीमित रहेकाले प्रविधि, सिँचाइ, मलखादको उचित व्यवस्थापनमार्फत उत्पादकत्व बढाउने ठूलो सम्भावना रहेको सचिव शर्माले उल्लेख गरेका छन्।

सरकारले विगत केही वर्षदेखि कोदोजन्य बालीको प्रवर्द्धनमा प्राथमिकता दिँदै आएको उल्लेख गर्दै उनले संघीय शर्तअनुसार प्रदेश तथा स्थानीय तहहरूसँग सहकार्यमा बजेट प्रवाह गर्दै आएको जानकारी दिए। साथै, स्थानीय रैथाने बालीहरूको संरक्षण, प्रशोधन, मूल्य श्रृंखला विकास र बजारिकरणमा पनि निजी क्षेत्रको समेत सहकार्य रहेको बताइएको छ।

नेपाल कृषि अनुसन्धान परिषद अन्तर्गत हालसम्म कोदोका ६, चिनोको १ र कागुनोको १ गरी जम्मा ८ वटा जात उन्मोचन भइसकेको सचिव शर्माले जानकारी दिए। यिनको संरक्षण राष्ट्रिय जिन बैंकमार्फत हुँदै आएको छ, जहाँ हालसम्म १,१४० वटा कोदोजन्य बालीका परिग्रहणहरू सुरक्षित छन्।

“यी विभिन्न प्रयासहरूका बावजुद पनि अपेक्षित उत्पादन हासिल हुन नसकेकोले, कोदोजन्य बालीको महत्त्व उजागर गर्दै यसको खेती विस्तारमा संयुक्त प्रयास आवश्यक छ,”सचिव शर्माले सन्देशमा उल्लेख गरेका छन्।