काठमाडाैँ । १९ वर्षअघि प्रारम्भ भएको भएको महाकाली सिंचाई आयोजनाको भौतिक प्रगति २६ प्रतिशत मात्र भएको छ ।
वि.स. २०६३ सालबाट सुरू भएको महाकाली सिंचाई आयोजनामा हालसम्म २८ किलोमिटर मूल नहर मात्र निर्माण भएको उर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयकी जलस्रोत सचिव सरिता दवाडीले जानकारी दिइन् ।
शुक्रवार सिंहदरबारमा बसेको राष्ट्रिय सभाको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति बोल्दै जलस्रोत सचिव दवाडीले यस्तो जानकारी दिएकी हुन् ।
उक्त आयोजनालाई राष्ट्रिय गौरवको आयोजना बनाउनु अघि थोरै थोरै बजेट विनियोजन हुने र काम पनि अत्यन्तै सुस्त गतिमा भएको कारण ढिलाई भएको सचिव दवाडीको भनाइ छ । कञ्चनपुरको २८ हजार हेक्टर जमिनमा महाकाली नदीको पानीबाट तथा थप ५ हजार हेक्टरमा भूमिगत स्रोतबाट सिंचाइ सुविधा पुर्याउने लक्ष्यसहित सुरू गरिएको आयोजनाअन्तर्गत ४८ किलोमिटर लामो मूल नहर निर्माणाधीन छ ।
उनले आयोजनाको हालसम्म २८ किलोमिटर मूल नहर तथा शाखा नहरहरू निर्माण सम्पन्न भइसकेको बताइन् । हालसम्म सिंचाई आयोजनामार्फत ३ हजार हेक्टर क्षेत्रफलमा सिंचाई सुविधा पुर्याउनको लागि नहर प्रणाली बनिसकेको भएपनि भारतले नहरमा पानी छोड्न नमान्दा समस्या भएको उनको भनाइ छ ।
सरकारले २०७७ सालमा महाकाली सिंचाई आयोजनालाई राष्ट्रिय गौरवको आयोजनाका रुपमा सूचीकृत गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्