काठमाडौँ । नेपाल भ्यालुयर्स एसाेसिएसन (एनभिए)ले नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआइएमबी) विरुद्ध विभिन्न माग राख्दै चरणबद्ध आन्दोलन गरिरहेका छन् । सम्पत्ति मूल्याङ्कनकर्ता इन्जिनियरहरूलाई विभिन्न बहानामा दुख दिएको भन्दै विभिन्न माग राखेर चरणबद्ध आन्दोलनमा उत्रेका हुन् ।
माग सबै बैंकहरूसँग उस्तै भएपनि बहुमत मूल्याङ्कनकर्ताहरूले एनआइएमबी बैंकले धेरै दुख दिएकाे आधारमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंक विरुद्ध आन्दोलनमा उत्रिएका हुन् । नेपाल भ्यालुयर्स एसाेसियसनका उपाध्यक्ष प्रज्ञान घिमिरेको संयोजकत्वमा गरेको सर्वेक्षणमा यस बैंकले मूल्याङ्कनकर्ताहरूलाई सबैभन्दा बढी दुख दिएको देखिएको थियो ।
नेपाल भ्यालुयर्स एसाेसियसनका सचिव ई. रविन्द्र अधिकारीले कुन बैंकले बढी दुख दिएको भनेर सर्वेक्षण गर्दा बहुमत भ्यालुयर्सहरूले नेपाल इन्भेष्टमेन्ट मेगा बैंक भनेपछि यहि बैंक विरुद्ध आन्दोलन गर्ने निर्णय गरेको बताए ।
उनले भने, “हाम्रो उपाध्यक्ष प्रज्ञान घिमिरेको संयोजकत्वमा कुन बैंकले बढी दुख दिएको छ र कुन बैंक विरुद्ध संघर्ष जरुरी छ भनेर सर्वेक्षण गरेको थियौँ । बहुमत भ्यालुयर्सहरूले बैंकले दुख दिएको भनेपछि हामीले एनआइएमबी बैंक विरुद्ध आन्दोलन गरेको हो । यो अरु बैंकहरूमा पनि लागू हुन्छ । भ्यालुयर्सको माग अनुसार एनआइएमबी बैंक विरुद्ध हाम्रो आन्दोलन हो ।”
भ्यालुयर्स एसाेसियसनले विभिन्न ६ ओटा माग राखेर आन्दोलन गरिरहेको छ । नेपाल बैंकर्स संघ र नेपाल भ्यालुयर्स एसाेसियसनबिच भएको सर्भिस ड्राफ्ट एग्रिमेन्ट फर्म्याट तत्काल पुर्णरुपमा कार्यान्वयन गर्न माग गरेको छ । २०७४ सालमा नेपाल भ्यालुयर्स एसाेसिएसन र नेपाल बैंकर्स संघबिच कसरी काम गर्ने भनेर सम्झौता गरेको र सोही सम्झौता तत्काल लागू गर्न एसाेसियसनले माग गरेको हो ।
नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले पछिल्लो समय यो सम्झौता लागू नगरेको र अरु विभिन्न बुँदाहरु थप गरेर दुख दिएपछि आन्दोलन गर्न बाध्य भएको नेपाल भ्यालुयर्स एसाेसियसनका सचिव अधिकारीले बताए ।
बैंकले घरजग्गाको मूल्य र मूल्याङ्कन घटेको भन्दै मूल्याङ्कनकर्ताहरूलाई कालोसूचीमा सिफारिस गरेको छ । घर जग्गाको मूल्य र मूल्याङ्कन घटेकै आधारमा मूल्याङ्कनकर्ता इन्जिनियरहरु माथि गरिएको कालोसूची लगायतका कारबाहीको सिफारिस फिर्ता माग गरेको छ ।
“घरजग्ग्गाको मूल्य र मूल्याङ्कन घट्यो भनेर बैंकरहरु आफैँ हिँडिरहनु भएको छ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले घरजग्गाको मूल्य र मूल्याङ्कन घट्यो भनेर मूल्याङ्कन कर्ताहरूलाई कालोसूचीमा राखेको कारण यसको विरुद्धमा हाम्रो आन्दोलन हो,” उनले भने ।
पछिल्लो समय बैंकरहरूले नै घरजग्गाको मूल्यांकन ६० प्रतिशतले घटेको बताउँदै आइरहेका छन् ।
मूल्याङ्कनकर्ता इन्जिनियरहरु सूचीकृत गरेर काम नदिने परिपाटी अन्त्य गर्न साथै चक्रिय प्रणाली अन्तर्गत काम बाँडफाड गर्न तथा न्युनतम मासिकरुपमा सुचिकृत मूल्याङ्कनकर्ताहरूले कार्यादेश प्राप्त गर्ने सुनिश्चित गर्नुपर्ने माग राखेका छन् ।
नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले धेरै मूल्याङ्कनकर्ता राखेपनि सबैलाई चक्रियरुपमा काम बाँडफाँड गर्नुपर्ने उल्लेख गरेकाे छ । बैंकले एउटा शाखामा एकजना मूल्याङ्कनकर्ता राख्ने र ३०० कम्पनी/ व्यक्ति मूल्याङ्कनकर्ता नियुक्त गर्ने भनेर धम्की दिने गरेकाे उल्लेख गरिएको छ ।
सचिव अधिकारीले भने, “कुनै बैंकमा ९-१० जना मूल्याङ्कनकर्ता भएर पनि चलिरहेको छ तर नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले एक वर्ष अगाडि नियम विपरीत ३०० जनाभन्दा बढी भ्यालुयर्स नियुक्ति गर्छु भनेकाे छ । उहाँहरूले तपाईहरूले काम नगरे भ्यालुयर्स एसाेसियसनमा सूचीकृत नभएका अरु इन्जिनियरहरु छन् भन्ने कुरा गर्नुभयो । तपाईहरुले नगरे उहाँहरुलाई काम लगाउँछौँ भन्नुभयो ।”
उनले भने, “उहाँहरूले हरेक शाखामा १–१ जना भ्यालुयर्स राखेर काम गर्ने भन्नुभएको थियो । एउटा इन्जिनियरलाई एउटा कम्पनीलाई सूचीकृत गर्दा बैंकहरूले ३ लाख रुपैयाँ राख्नुपर्छ । ३०० ओटा लिस्टेड गर्दा ९ करोड रुपैयाँभन्दा बढी राख्नुपर्ने हुन्छ । भ्यालुयर्स राख्ने तर काम नदिने परिपाटी उहाँहरुको छ । लिस्टेडहरुलाई क्रमश काम दिनु भनेर हामीले भनेको हो ।”
यस्तै, नेपाल भ्यालुयर्स एसाेसियसनद्वारा जारी मूल्याङ्कन परामर्श सेवा शुल्क तत्काल लागू गर्न माग गरेको छ । मूल्याङ्कनकर्ताहरूको तलब अथवा पारिश्रमिक घट्दै गएको भन्दै न्यूनतम सेवा शुल्क लागू गर्नुपर्ने माग राखेको हो ।
उनले भने, “२०६२/६३ सालमा एउटा बैंकले एक करोड रुपैयाँ बराबरको भ्यालुयसन गर्दा ३० हजार रुपैयाँ दिने गरेकोमा आज घट्दै गइरहको अवस्थामा शुल्क तत्काल लागू गर्न माग गरेको हो । भ्यालुयर्स पेशामा तलब अथवा पारिश्रमिक घट्दै गइरहेको अवस्थामा न्यूनतम पनि ७ हजार ५०० रुपैयाँ हुनुपर्छ । यसमा मूल्यांकनको आधारमा फि बढ्दै जानुपर्छ भन्ने माग राखेको हौं । यसलाई लागू गरौं भन्दा १९ ओटा बैंकले लागू गरेपछि २० औं बैंकको रुपमा लागू गर्छु भन्नुहुन्छ ।”
उनले बैंकहरूले एक करोडको भ्यालुयसन ७–१० हजारमा गराउने परिपाटी बसेको अवस्थामा न्यूनतम शुल्क लागू गर्नुपर्ने माग गरेको बताए ।
यस्तै, नेपाल राष्ट्र बैंकको निर्देशिका बमोजिम मूल्याङ्कनकर्ता इन्जिनियरहरुको काम, कर्तव्य अधिकार तथा उत्तरदायित्व अनिवार्य उल्लेख गरी मूल्याङ्कनकर्ताहरूसँग सम्झौता गर्न माग गरेको छ ।
मूल्याङ्कनकर्ताहरूलाई विभिन्न बहानामा काम नदिई निलम्बन गरेको कारबाही तत्काल फिर्ता गर्नुपर्ने एसाेसियसनको माग रहेको छ । एक वर्ष अगाडी भ्यालुयर्सहरूले सांकेतिकरूपमा ३ दिन काम बन्द गरेको थियो । त्यस ३ दिनमा काम नगर्ने भ्यालुयर्सहरुलाई निलम्बनमा राखेकोले एसाेसियसनले निलम्बनमा राखेको मूल्याङ्कनकर्ताहरूको निलम्बन फुकुवा गर्नुपर्ने उनले बताए ।
बैंकसँग अहिलेसम्म कुनै पनि छलफल नभएको सचिव अधिकारीले बताए । गएको चैतमा १५ दिनमा समाधान निकाल्ने कुरा भएको तर अहिलेसम्म पनि समाधान नभएको उनले उल्लेख गरे । बैंकले अरु बैंकहरुले लागू गरे २० औं बैंक हुन्छौं मात्र भनिरहने उनले बताए ।
राष्ट्र बैंकले गत मंसिरमा ल्याएको मस्यौदा लागू भए भ्यालूयर्सको ८० प्रतिशत माग समाधान हुने उनको भनाइ छ । उनले भने, मस्यौदा आएपनि लागू भएको छैन । बैंकहरुको दबाबको कारणले पनि हुनसक्छ अथवा अन्य कारणले पनि हुनसक्छ । राष्ट्र बैंक हाम्रो कुरामा सकारत्मक छ ।”
यस आन्दोलनलाई इन्जिनियरहरुका विभिन्न १५ ओटा संस्थाहरुले एक्यबद्धता जनाएका छन् ।
एसाेसियसनले पहिलोे चरणमा साउन १२–२३ गते सम्म आन्दोलनका कार्यक्रम तोकेको छ । पहिलो दिन साउन १२ गतेदेखि अर्को निर्णय नभएसम्म सो बैंकका देशभरीका सम्पूर्ण शाखा कार्यालयमा सम्पुर्ण धितो मुल्यांकनको कार्य बन्द गर्ने, काम जुन अवस्थामा छ त्यही अवस्थामा पुर्ण रुपमा रोक्न सबै सदस्यहरुलाई निर्देशन दिएको छ । सोही निर्देशनअनुसार उक्त बैंकका मुल्यांकन सम्बन्धि सम्पुर्ण काम ठप्प पारिएको छ ।
साउन १९–२० गते बैंकहरुले दिएको दुख लगायत एनभिएका सदस्यहरुलाई परेका समस्याका बारेमा नेपाल राष्ट्र बैंक र नेपाल बैंकर्स संघलाई जानकारी गराउने र पत्रकार सम्मेलन गर्ने कार्यक्रम सार्वजनिक गरिएको छ ।
त्यसैगरी, एनभिएले साउन २३ गते एनआइएमबी बैंकको केन्द्रीय कार्यालय, प्रदेश तथा शाखा कार्यालयमा विरोध तथा धर्ना दिने लगायतका कार्यक्रम सार्वजनिक गरेको छ । पहिलो चरणको आन्दोलनमा माग पुरा नभए कडा रुपमा दोस्रो चरणको कार्यक्रम सार्वजनिक गर्ने समेत एनभिएले बताएको छ ।
प्रतिक्रिया दिनुहोस्