काठमाडौँ । देशभर हाल सक्रिय मनसुनको प्रभावका कारण आगामी २४ घण्टासम्म अधिकांश स्थानमा मौसम बदली रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
विभागले शनिबार बिहान ६ बजे सार्वजनिक गरेको पूर्वानुमानअनुसार गण्डकी, लुम्बिनी र कोशी प्रदेशका पहाडी भू-भागका धेरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। ती प्रदेशका एक–दुई स्थानमा भारी वर्षा पनि हुन सक्ने विभागको अनुमान छ।
दिउँसोको समय देशभर साधारणतया बदली रहनेछ। पहाडी भू(भागका धेरैजसो स्थानहरूमा वर्षाको सम्भावना रहँदा तराईका केही स्थानहरू पनि प्रभावित हुने बताइएको छ।
त्यस्तै, रातिको समय पनि देशभर साधारणतया बदली रहनेछ। कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका धेरै स्थानहरूमा तथा अन्य प्रदेशका केही स्थानहरूमा पनि मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्ने विभागले जनाएको छ। कोशी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।
विभागले नदी तटीय क्षेत्र, पहिरो सम्भावित स्थान र यात्रा गर्नेहरूलाई विशेष सतर्कता अपनाउन आग्रह गरेको छ।
प्रतिक्रिया दिनुहोस्