काठमाडौँ । विश्वव्यापी मोबिलिटी तथा अर्बन सर्भिस प्लेटफर्म इनड्राइभले काठमाडौँमा आयोजित एक विशेष कार्यक्रममा आफ्नो ‘प्लेटिनम ड्राइभर गिभअवे क्याम्पेन’ अन्तर्गत विजेताहरूलाई पुरस्कार हस्तान्तरण गरेको छ ।
असार ८ गतेदेखि असार २९ गते (जुन २३ देखि जुलाई १३) सम्म सञ्चालन भएको यस अभियानमा सहभागी ड्राइभर पार्टनरहरूबाट उल्लेखनीय उत्साह र सहभागिता देखिएको कम्पनीले जनाएको छ ।
ड्राइभर पार्टनरहरूलाई प्रोत्साहित गर्दै उनीहरूको प्रतिबद्धता र मेहनतलाई कदर गर्ने उद्देश्यले सञ्चालन गरिएको यस अभियान अन्तर्गत इनड्राइभले विभिन्न साप्ताहिक च्यालेन्ज, आकर्षक उपहार तथा दुई ग्रान्ड पुरस्कार प्रदान गरेको थियो ।
क्याब ड्राइभर श्रेणीमा शुभ राज सुनुवारले टाटा एक्सप्रेस-टी इभी जित्न सफल भए भने बाइक राइडर श्रेणीमा जित थापाले टिभिएस राइडर मोटरसाइकल प्राप्त गरे । तीनवटै साप्ताहिक च्यालेन्जमा निरन्तर रूपमा प्लेटिनम स्थिति कायम राख्दै सबै मापदण्डहरू पूरा गर्ने ड्राइभरहरूबाट उनीहरू छानिएका थिए । विजेताको घोषणा इनड्राइभ नेपालको आधिकारिक टिकटक च्यानलमार्फत जुलाई २० मा प्रत्यक्ष लक्की ड्र गरेर गरिएको थियो ।
यसैगरी, इनड्राइभले अभियानका क्रममा थप दर्जनौं ड्राइभर पार्टनरहरूलाई विभिन्न साप्ताहिक पुरस्कार पनि प्रदान गरेको छ । वाेनपल्स नाेर्ड सीइफ्राे लाइट फाइभ जी स्मार्टफोन, अल्टिमा एटाेम १९२ इयरबड्स र अल्टिमा नाेभा प्राे स्मार्टवाच लगायतका पुरस्कारहरू विभिन्न भाग्यशाली विजेताहरूले प्राप्त गरेका छन् ।
कार्यक्रममा इनड्राइभ साउथ एशियाका ड्राइभर अपरेसन्सका रिजनल टिम लिडर डिमित्री ओख्लोप्कोभले ड्राइभर पार्टनरहरू इनड्राइभको सफलता र विकासको आधार भएको उल्लेख गरे । उनले भने, “यो अभियान हाम्रा ड्राइभरहरूको समर्पण र व्यावसायिकतालाई सम्मान गर्न र उनीहरूले दिने सेवामा प्रेरणा थप्न डिजाइन गरिएको हो । इनड्राइभको पारदर्शी मूल्य निर्धारण मोडेलले चालक र यात्रु दुवैको हित सुनिश्चित गर्छ ।”
त्यसैगरी, इनड्राइभ नेपालकी ड्राइभर रिटेन्सन स्पेसलिस्ट सुनिता जीमी राईले सबै विजेताहरूलाई बधाई दिँदै भनिन्, “हामीले अघिल्लो अभियानमै वाचा गरेका थियौं कि अझ ठूलो अभियान लिएर आउनेछौं र त्यो वाचा पूरा गरेका छौं । हाम्रा चालकहरूको समर्पण र परिश्रमले इनड्राइभको यात्रालाई सम्भव बनाएको छ ।”
इनड्राइभले आफ्नो ड्राइभर समुदायलाई निष्पक्षता, स्वतन्त्रता र सम्मानका साथ सशक्त बनाउने दिशामा निरन्तर अघि बढ्ने प्रतिबद्धता दोहोर्याएको छ ।
प्रतिक्रिया दिनुहोस्