काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला दाहालले काठमाडौँ उपत्यकाको यातायात प्रणाली अत्यन्तै समस्याग्रस्त अवस्थामा रहेको बताएका छन् ।
ललितपुरमा आयोजित ‘जीवन्त र सांस्कृतिक काठमाडौँ उपत्यकाको लागि दिगो, सुरक्षित र समावेशी यातायात’ विषयक गोष्ठीलाई सम्बोधन गर्दै मन्त्री दाहालले उपत्यकामा सवारीसाधनको अत्यधिक वृद्धि, अव्यवस्थित शहरीकरण र अपर्याप्त पूर्वाधारका कारण गम्भीर ट्राफिक जाम, ढिलाइ र वायुप्रदूषण झनै बढिरहेको उल्लेख गरे ।
उनले भने, “सन् २०१२ मा बनेको र सन् २०१७ मा अद्यावधिक गरिएको काठमाडौँ उपत्यका शहरी यातायात मास्टरप्लान पछिल्लो समयमा कार्यान्वयनमा आउन नसक्दा समस्या झन् गहिरिएको छ।”
मन्त्री दाहालका अनुसार काठमाडौँ,ललितपुर र भक्तपुर जिल्लाहरू मिलेर बनेको काठमाडौँ उपत्यका नेपालको आर्थिक, सांस्कृतिक र प्रशासनिक गतिविधिको मुख्य केन्द्र हो। तर, यहाँको यातायात प्रणाली विग्रँदो अवस्थामा पुग्नु गम्भीर चिन्ताको विषय भएको उनले बताए ।
“बढ्दो सवारी चाप, योजना विपरीतको शहरी विकास र पूर्वाधारको कमजोर स्थिति दैनिक यात्रु मात्र होइन, मुलुकको समग्र आर्थिक उत्पादकत्व र जनस्वास्थ्यमा समेत प्रतिकूल असर पारिरहेको छ,” मन्त्री दाहालले भने।
उनले नेपालको संविधान, दीर्घकालीन दृष्टिकोण २०४३, १६ औं आवधिक योजना र राष्ट्रिय यातायात नीतिले समृद्ध, समावेशी र स्वच्छ वातावरणसहितको नेपाल निर्माणको परिकल्पना गरेको उल्लेख गर्दै उपत्यकाको शहरी यातायात मास्टरप्लान यसै दिशामा अग्रसर रहेको स्पष्ट पारे ।
गोष्ठीमा मन्त्री दाहालले समयमै ठोस र निर्णायक कदम नचालिए हालको समस्याले भयावह रूप लिने चेतावनी दिए । “हामी अझै पनि निर्णायक नबने अवस्था बिग्रँदै जान्छ। ट्राफिक जाम र प्रदूषण नियन्त्रणका लागि अब निर्णायक कार्यान्वयन आवश्यक छ,” उनले भने ।
प्रतिक्रिया दिनुहोस्