सरकार विकास निर्माणका कामलाई तीब्र र जनमैत्री बनाउन प्रतिबद्ध छः मन्त्री ठकुरी


काठमाडाैँ । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले काठमाडौँ उपत्यकालाई वातावरणीय र यातायातको हिसाबले व्यवस्थित बनाउन जरुरी रहेको बताएका छन् ।

आइतवार ललितपुरमा जीवन्त र सांस्कृतिक काठमाडौँ उपत्यकाको लागि दिगो, सुरक्षित र समावेशी यातायात विषयक गोष्ठीलाई सम्बोधन गर्दै उनले काठमाडौँ उपत्यका वातावरणीय हिसावले प्रदुषणबाट प्रभावित रहेको भन्दै यसको न्युनिकरण गर्न आवश्यक रहेको पनि बताएका हुन्।

जायिकाले सुरू गरेको जीवन्त र सांस्कृतिक काठमाडौँ उपत्यकाको लागि दिगो, सुरक्षित र समावेशी यातायात प्रोजेक्टले महत्वपूर्ण भुमिका खेल्ने बताए । उनले जापान सरकार र जायिकाले नेपाललाई हरेक काममा सहयोग गरिरहेको पनि बताए ।

“नेपालको राजधानी हाम्रो काठमाडौं उपत्यकालाई व्यवस्थित र वातावरणीय हिसावले, ट्राफिकिङको हिसाबले सबै हिसावले यसलाई व्यवस्थित नबनाउन जरुरी छ । जापान सरकार र जायिकाले नेपाललाई हरेक काममा सहयोग गरिरहेको छ । यो नेपालका लागि महत्वपूर्ण सुरूवात हो,” उनले भने ।

मन्त्री ठकुरीले मन्त्रालयको तर्फबाट गर्नुपर्ने सहजीकरणमा मन्त्रालय सदैव तयार रहेको बताए । वातावरणीय प्रभाव मूल्यांकनका कारणले धेरै प्रक्रियाहरू झन्झटिलो भन्ने सुने गरेपनि अब समस्या समाधान हुने र ऐन, कानून संशोधनको प्रक्रियामा अघि बढिसकेको बताए ।