नेपालका खाद्य प्रयोगशालालाई अन्तर्राष्ट्रिय मान्यता, निर्यात प्रवर्धनमा सघाउ पुग्ने विभागकाे दाबी


काठमाडौँ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले अन्तर्राष्ट्रिय मान्यता (प्रत्यायन) प्राप्त गर्दै उपलब्धि हासिल गरेको छ। विभाग अन्तर्गतको राष्ट्रिय खाद्य तथा दाना सन्दर्भ प्रयोगशालाले परीक्षण तथा मापन प्रयोगशालाका लागि प्रत्यायन बोर्ड (एनएबिएल) बाट अन्तर्राष्ट्रिय मापदण्ड आईएसओ/आईईसी १७०२५:२०१७ अनुसार ८१४ परीक्षण सूचकांकमा प्रत्यायन प्रमाणपत्र प्राप्त गरेको छ।

खाद्य तथा दानापदार्थको परीक्षण परिणामलाई अन्तर्राष्ट्रिय मान्यता दिलाउन र निर्यात प्रक्रिया सहज बनाउन गरिएको यस प्रयासले विभागको सेवामा गुणस्तरीय सुधार ल्याएको छ। विभागले यसअघि ३८६ परीक्षण सूचकांकमा मात्र प्रत्यायन प्राप्त गरेकोमा अब त्यो संख्या ८१४ मा पुर्‍याउन सफल भएको हो।

यो उपलब्धिसँगै नेपालकै सरकारी प्रयोगशालामध्ये सबैभन्दा धेरै परीक्षण सूचकांकमा अन्तर्राष्ट्रिय मान्यता प्राप्त गर्ने प्रयोगशालाको रूपमा राष्ट्रिय खाद्य तथा दाना सन्दर्भ प्रयोगशाला स्थापित भएको विभागका प्रवक्ता माेहन कृष्णा महर्जनकाे दाबी छ ।

त्यस्तै, भारत सरकार अन्तर्गत रहेको खाद्य सुरक्षा तथा मापदण्ड प्राधिकरण (एफएसएसएआई) ले पनि विभागको प्रयोगशालाबाट जारी हुने परीक्षण प्रमाणपत्र (विश्लेषण प्रमाणपत्र) र खाद्य स्वच्छता तथा गुणस्तर निर्यात प्रमाणपत्रलाई औपचारिक मान्यता प्रदान गरेको छ।

एफएसएसएआई र एनएबिएलको संयुक्त एकीकृत प्रयोगशाला मूल्यांकनपछि विभागले ६८० परीक्षण सूचकांकमा एकीकृत प्रत्यायन प्रमाणपत्र प्राप्त गरेको छ। यसबाट नेपाली खाद्य तथा कृषिजन्य वस्तुको भारत निर्यात थप सहज हुने विभागले विश्वास लिएको छ।

सन् २०१२ मा २७ रासायनिक परीक्षण सूचकांकबाट सुरू भएको प्रत्यायन प्रक्रिया विस्तार हुँदै सन् २०२३ सम्ममा २८६ परीक्षण सूचकांकमा मान्यता प्राप्त गरिएको थियो। सन् २०२५ मा भने सो संख्या बढेर ६७२ रासायनिक र १४२ सूक्ष्मजीवसम्बन्धी परीक्षण सूचकांकसहित कुल ८१४ पुगेको विभागले जनाएकाे छ ।

विभागले खाद्यमा प्रयोग गरिने थप पदार्थ, विषादी अवशेष, कृत्रिम गुलियो पदार्थ, खाद्य रंग, परिरक्षक, भिटामिन, धातु तथा विषालु धातु, अफ्लाटक्सिन लगायतका १२३ परीक्षण सूचकांकमा प्रत्यायन विस्तार गरेको जानकारी दिएको छ।

विराटनगरस्थित विभागको क्षेत्रीय खाद्य प्रयोगशालाले पनि यस वर्ष ४६ परीक्षण सूचकांकमा प्रत्यायन विस्तारका लागि प्रक्रिया अघि बढाइसकेको छ।

विभागका अनुसार भारतले प्रारम्भिक चरणमा जुस, जाम, जेली, अचार, मिठाई, तयारी चाउचाउ, अदुवा, ताजा तरकारी तथा फलफूल गरी ८ प्रकारका खाद्य वस्तुहरूको विश्लेषण प्रमाणपत्रलाई मान्यता दिने निर्णय गरिसकेको छ।

विश्व खाद्य स्वच्छता दिवस २०२५ को सन्दर्भमा “खाद्य पदार्थमा स्वच्छता : विज्ञानको अपरिहार्यता” भन्ने नाराका साथ विभागले आफ्ना प्रयोगशालामा प्राप्त भएको प्रत्यायन तथा सेवा विस्तारबारे जानकारी दिँदै सरोकारवाला र सञ्चारकर्मीहरूसँग सहकार्यको अपेक्षा गरेको छ।

विभागका महानिर्देशक सञ्जीव कुमार कर्णले अन्तर्राष्ट्रिय मान्यता प्राप्त गर्न प्रत्यक्ष र अप्रत्यक्ष रूपमा योगदान पुर्‍याउने सबै पक्षप्रति आभार प्रकट गर्दै, आगामी दिनमा पनि निरन्तर सहकार्यका लागि आग्रह गरेका छन्।