साना कर्जा सुरक्षणमा काेषले शतप्रतिशत क्षतिपूर्ति दिने


काठमाडौँ । निक्षेप तथा कर्जा सुरक्षण कोषले लघु कर्जा अतिरिक्त सुरक्षण कार्यक्रम ल्याएको छ । कोषले १० लाख रुपैयाँसम्मका ऋणीहरूको कर्जाको सुरक्षणमा यो कार्यक्रम ल्याएको जनाएको हाे ।

बैंक तथा वित्तीय संस्थाहरूको कर्जा डिफल्ट भए कर्जा सुरक्षण कार्यक्रम अन्तर्गत ७५ प्रतिशत क्षतिपूर्ति व्यहोर्ने गरेको छ भने केही कर्जामा ८० प्रतिशत दिँदै आएको छ । यस्तो अवस्थामा २५ प्रतिशत बैंक तथा वित्तीय संस्थाहरुले व्यहोर्दै आएका थिए । अब भने कोषले विभिन्न ३ ओटा अवस्थामा शतप्रतिशत क्षतिपूर्ति व्यहोर्ने छ ।

कोषका प्रमुख कार्यकारी अधिकृत रमेश घिमिरेले लघु कर्जा अतिरिक्त सुरक्षण गराए ३ ओटा अवस्थामा सतप्रतिशत क्षतिपुर्ति दिनेगरी कार्यक्रम ल्याएको बताए ।

उनले भने, “बैंक तथा वित्तीय संस्थाहरूले साना १० लाख भन्दा मुनिको कर्जामा कुनै न कुनै स्किममा सुरक्षण गराएको रहेछ भने त्यस्तो सुरक्षण गराएको कर्जामा ०.१५ अतिरिक्त सुरक्षण शुल्क कोषलाई बुझाएपछि हामीले ३ ओटा अवस्थामा सतप्रतिशत क्षतिपूर्ति दिने गरि कार्यक्रम ल्याएको छौँ ।”

ऋणी अथवा ऋणीको परिवारको मृत्यु भएर कर्जा तिर्न नसकेको अवस्थामा, स्थायी अपाङ्गता भएमा र प्राकृतिक प्रकोपको कारण परियोजना नष्ट भएमा कोषले शतप्रतिशत क्षतिपूर्ति दिने घिमिरेले बताए । यी बाहेकको अवस्थामा भने अन्यथा कोषबाट पाउने क्षतिपूर्ति कर्जा तिर्न नसकेको अवस्थामा पाउने उनको भनाइ छ ।

१० लाख भन्दा मुनिको कर्जामा कर्जा सुरक्षण गरेको अवस्थामा ७५ प्रतिशत कोषले व्यहोर्दै आएको छ । यसमा बैंक तथा वित्तीय संस्थाहरुले २५ प्रतिशतको जोखिम आफैँ व्यहोर्नुपर्छ । यो ७५ प्रतिशतमा पनि बैंकले २० प्रतिशत रिकभर भएपछि मात्र कोषले क्लेम लिने गरेको छ ।

यसमा बैंकको ५५ प्रतिशतमात्र हुने गरेको थियो । कर्जामा ५५ प्रतिशतमात्र कोषले व्यहोर्ने हो । यसमा ४५ प्रतिशत पनि सुरक्षित बनाउन ऋणीहरुलाई बैंक तथा वित्तीय संस्थाहरुले बाध्यकारीरुपमा म्यादी जीवन बिमा गराउने गरेका थिए ।

बैंक तथा वित्तीय संस्थाहरूले ऋणीलाई म्यादी जीवन बिमा गराउन बाध्य बनाउने भएकोले पनि कोषले यो कार्यक्रम ल्याएको जनाएको छ । साना व्यवसाय गर्नलाई सानो ऋण लिनजाँदा जवरजस्ती जीवन बिमा गराउने गरेका थिए ।

केही गरौँ भनेर सानो ऋण लिएर केही गरौंभन्दा थप केही रकम म्यादी जीवन बिमा गराएर थप खर्च गर्न बाध्य भएका थिए । कतिपय बैंकहरूले शतप्रतिशत कर्जा रिकभरी हुने गरी बिमा गराउन लगाउने भएपनि केहीले भने ४५ प्रतिशत रिकभरी हुनेगरी म्यादी जीवन बिमा गराउने गरेका छन् । साना ऋणीलाइ थप भार नपराेस् भनेर काेषले शतप्रतिशत क्षतिपुर्ति दिने कर्जा सुरक्षण कार्यक्रम ल्याएकाे हाे । यसले साना ऋणीलाइ थप भार नपर्ने विश्वास काेषकाे छ ।