स्याङ्जामा सुन र नगद चोरीको नाटक रच्ने दुई जना पक्राउ


काठमाडौँ । स्याङ्जा जिल्लाको आँधिखोला गाउँपालिका वडा नम्बर १ हिलेस्थित आफ्नै घरबाट सुनका गरगहना र नगद चोरी भएको भन्दै दिएको झुट्टा निवेदनपछि दुई जना पक्राउ परेका छन्।

गत साउन १२ गते रातिको समयमा चन्द्र कुमारी गुरूङले साढे सात तोला सुनका गरगहना र चार हजार रुपैयाँ नगद चोरी भएको भन्दै जिल्ला प्रहरी कार्यालय स्याङ्जामा उजुरी दिएकी थिइन्।

उजुरीका आधारमा अनुसन्धान सुरू गरेपछि प्रहरीले उल्लेख गरिएको गरगहना र नगद उनी आफैंले र धनराज गुरूङसँग मिलेर लुकाएको पत्ता लगाएको हो।

अनुसन्धानबाट उक्त चोरी नाटक मात्र भएको पुष्टि भएपछि चन्द्र कुमारी गुरूङ (४१ वर्ष) र धनराज गुरूङ (३८ वर्ष) लाई साउन १७ गते पक्राउ गरी उनीहरूविरुद्ध आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय स्याङ्जाले झुटो जानकारी दिएर राज्यलाई भ्रमित गर्ने कार्य आपराधिक भएकाले यस्ता गतिविधिमा संलग्न नहुन आम नागरिकलाई आग्रह गरेको छ।