बहुविवाहलाई प्रोत्साहन गर्नेगरी कानून ल्याइँदैनः मन्त्री चौरसिया


काठमाडाैँ । कानून, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले बहुविवाहलाई प्रोत्साहन गर्नेगरी कानून नल्याइएको बताएका छन् ।

नेपाल महिला संघले आइतवार मन्त्रालयमा बुझाएको ज्ञापन पत्र बुझ्दै मन्त्री चौरसियाले यस्तो प्रतिबद्धता जनाएका हुन् । सञ्चारमाध्यममा सरकारले मुलुकी देवानी (संहिता) ऐन, २०७४ लाई संशोधन गरी केही निश्चित परिस्थितिमा बहुविवाहलाई कानूनी वैधता दिने प्रस्तावित कानून ल्याएको भन्दै समाचार प्रकाशित भएका छन् ।

सरकारले गलत सम्बन्धबाट गर्भ रही जन्मिएको सन्तानको अधिकार सुनिश्चित गर्नका लागि कानून संशोधन गर्न लागेको स्पष्ट पारे । यसमा पुरुष वा महिला जो कोही दोषी छ उसलाई कारबाही गरिने गरी कानून निर्माण गर्न लागेको बताए।

मन्त्री चौरसियाले बहुविवाहलाई प्रोत्साहन गर्ने गरी कानून ल्याउन नलागेको स्पष्ट पार्दै आफ्ना पनि घरमा छोरीहरू रहेको बताए ।

महिलालाई गाह्रो हुनेगरी कानून नबनाउने पनि प्रतिवद्धता जनाए । शब्दबाट कुनै गलत अर्थ लाग्ने रहेछ भने त्यो संशोधन गर्न सरकार तयार रहेको बताए । गलत सम्बन्धबाट जन्मिएका सन्तानको हकमा केही कानून बनाउन आवश्यक नरहेको भए सरकारले नबनाउने पनि स्पष्ट पारे।

मस्यौदा मन्त्रीपरिषद्को समितिमा छलफलका क्रममा रहेको र पूरा तयार नभइसकेकाले सरकारको धारणा हो भनेर प्रचार नगर्न आग्रह गरे । गलत सम्बन्धबाट जन्मिएको सन्तान र श्रीमतीलाई सम्बन्धित व्यक्तिले स्वीकार गर्न चाहे स्वीकार्नसक्ने व्यवस्था कानूनमा राखिएको भन्दै समाचारहरु प्रकाशन भएका छन् ।