डा.विमला र परितालाई ‘प्रेरक नारी सम्मान २०८२’ प्रदान


काठमाडौँ । सामाजिक योगदान, नेतृत्व क्षमता र प्रेरणादायी कार्यका लागि विराटनगर मिल्स एरिया समाजले ‘प्रेरक नारी सम्मान २०८२’ प्रदान गरेको छ।

पूर्व परराष्ट्रमन्त्री समेत रहेकी डा.विमला राई पौड्याललाई राष्ट्र निर्माण, सामाजिक न्याय, लैंगिक समानता र समावेशी विकासमा पुर्‍याएको उल्लेखनीय योगदानको कदर गर्दै समाजले सम्मान गरेको हो।

अन्तर्राष्ट्रिय स्तरमा नेपालको प्रतिष्ठा बढाउने काममा पनि उनको सक्रिय भूमिका रहेको उल्लेख गर्दै समाजले उच्च सम्मानका साथ उनलाई ‘प्रेरक नारी सम्मान २०८२’ प्रदान गरेको हो।

समाजका अध्यक्ष रविराज कुँवरले हस्ताक्षर गरी जारी गरिएको सम्मानपत्रमा उनको दीर्घकालीन समर्पण, नेतृत्व क्षमता र प्रेरणादायी कार्यले महिलामात्र नभई सम्पूर्ण समाजका लागि अनुकरणीय उदाहरण प्रस्तुत गरेको उल्लेख गरिएको छ।

त्यसैगरी, बहिरा समुदाय, विशेषगरी महिलाहरूको सशक्तिकरण, सीप विकास र आत्मनिर्भरता प्रवर्द्धनमा सक्रिय भूमिका निभाउँदै आएकी परिता डंगोल सिंहलाई पनि सोही सम्मान प्रदान गरिएको छ।

बहिरा समुदायको अन्तर्राष्ट्रिय स्तरमा प्रतिनिधित्व गर्दै सामाजिक रूपान्तरणमा पुर्‍याएको योगदानप्रति कदर गर्दै उनलाई ‘प्रेरक नारी सम्मान २०८२’ प्रदान गरिएको हो।

कार्यक्रममा महिला उद्यमी तथा व्यवसायी रेखा भट्टराई, रक्की श्रेष्ठ र समाजका सल्लाहकार ऋतुराज सापकोटाले सम्मानित व्यक्तित्वका योगदानबारे चर्चा गर्दै नारीशक्तिका विविध पक्षमा प्रकाश पारेका थिए।

कार्यक्रमको स्वागत मन्तव्य समाजकी कोषाध्यक्ष सीता दाहालले राखेकी थिइन्। कार्यक्रममा १०० बढी महिला दिदीबहिनीहरूको सक्रिय सहभागिता रहेको थियो।