काठमाडाैँ । संघीय निजामती सेवा विधेयकमा ‘कुलिङ अफ पिरियड’को व्यवस्थामा भएको छेड्खानीबारे छानबिन गर्न बनेको संसदीय विशेष समितिले सोमबारको प्रतिनिधि सभा बैठकमा प्रतिवेदन बुझाउने तयारी गरेको छ ।
आइतवार सिंहदरबारमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै समिति सभापति जीवन परियारले यस्तो जानकारी दिएका हुन् । छानबिन समितिको प्रतिवेदनलाई अन्तिम रूप दिन सिंहदरबारमा समितिको बैठक बसिरहेको छ ।
सभापति परियारले समितिलाई प्राप्त चारवटा कार्यादेशमाथि छलफल भइरहेको उल्लेख गर्दै सोमवारको प्रतिनिधि सभाको बैठकमा प्रतिवेदन पेस गरिने बताए ।
“समितिको कामको हामी अन्तिम चरणमा पुगेका छौं । आज हामी म्याद थपिएको सातौं दिनमा छौं । आज साँझसम्म सम्भवतः हामीले प्रतिवेदनलाई अन्तिम रूप दिएर भोलिको सभामा प्रस्तुत गर्ने तयारीमा छौं । यसको मतलव सबै काम सम्पन्न भइसकेको भन्ने होइन । हामीलाई प्राप्त चार वटा कार्यादेश दिएको थियो । हामी त्यो चारवटा कार्यादेशबारे छलफलकै क्रममा छौं । प्रतिवेदन फाइनल भइसकेको छैन । हामी कार्यादेशमा केन्द्रित भएर छलफल गरिरहेका छौं । यसलाई आज अन्तिम रूप दिएर भोलिको संसदको बैठकमा बुझाउने तयारीमा छौं,”उनले भने ।
गत असार २३ गते प्रतिनिधि सभाले निजामती सेवा विधेयकमा भएको कुलिङ अफ पिरियडसम्बन्धी प्रावधानमाथि छानविन गर्न समिति गठन गरेको थियो । प्रारम्भमा समितिलाई २१ दिनको समय दिइएको थियो । उक्त समय साउन ११ गते सकिएपछि समितिले थप ७ दिनको समय पाएको थियो ।
छानबिन गर्न थपिएको म्याद आज सकिँदैछ । समितिमा नेपाली कांग्रेसका सांसद जीवन परियार (सभापति) र सुशीला थिङ, नेकपा एमालेका ईश्वरी घर्ती र नारायणप्रसाद आचार्य, नेकपा माओवादी केन्द्रका माधव सापकोटा, राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पराजुली र राष्ट्रिय प्रजातन्त्र पार्टीका रोशन कार्की सदस्य रहेका थिए ।
प्रतिक्रिया दिनुहोस्