काठमाडाैँ । निर्माणाधीन संघीय संसद भवन र मर्मत भइरहेको ग्यालरी बैठक अर्थात पुरानो संसद भवनको काम समयमै सक्नुपर्नेमा सांसदहरूले जोड दिएका छन् ।
आइतवार सिंहदरबारमा बसेको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा बोल्दै उनीहरूले यस्तो बताएका हुन् । पटक पटक म्याद र बजेट थप्ने तर कार्य प्रगति हुनु सरकारको कमजोरी रहेको उनीहरूको भनाइ छ ।
बैठकमा बोल्दै नेकपा (माओवादी केन्द्र) सांसद श्रीकृष्णप्रसाद अधिकारीले संसद भवन निर्माणको काम अपेक्षित रुपमा अघि नबढ्नु सरकारको कमजोरी रहेको बताए ।उनले ग्यालरी बैठक र संसद भवन निर्माणको अवस्था खनिएको माटो व्यवस्थापनमा समेत ध्यान दिनुपर्ने बताए ।
नेकपा (एमाले) की सांसद सुमित्रा वि.सी.ले ठेक्का प्रणालीमा देखिएको अनियमितता र लागत समय व्यवस्थापनको कमजोरीकार संसद भवन निर्माण कार्यमा ढिलाई भइरहेको तर्क गरिन् । उनले विकास निर्माणको समयमा अवधीको विषयमा कानूनमा आवश्यक संशोधन गर्न जरुरी रहेको पनि बताइन् ।
“हुन त कानूनमा सुविधा भएपछि व्यक्तिका प्रवृत्ति पनि बढ्ने होलान् । ठेक्का भनेपछि त कति समय लाग्छ ? लागत कति लाग्छ रु कति समयमा सकिन्छ ? भन्ने हिसाबले पहिले नै कुरा गर्छौं होला । त्यसमा नाफा भएपछि आफूले र घाटा भएपनि समय र बजेट थपिरहने प्रवृत्ति देखियो,”उनले भनिन् ।
नेकपा (माओवादी केन्द्र) की सांसद रेणु चन्दले निर्माणाधिन संसद भवनलाई समावेशी र अपाङ्गमैत्री बनाउनुपर्ने बताइन् । निर्माणाधीन भवनहरू अपाङ्ग र महिलामैत्री छन् कि छैनन् ? उनको प्रश्न छ । बैठकमा बोल्ने अधिकांश सांसदहरूले संसद भवन निर्माण समयमै सकिनु पर्नेमा जोड दिए ।
प्रतिक्रिया दिनुहोस्