प्रादेशिक कृषि थोक बजार हेटौंडा उपमहानगरपालिकालाई हस्तान्तरण


काठमाडाैँ । हेटौंडा ११, थानाभ¥याङमा निर्माण भएको प्रादेशिक कृषि थोक बजार हेटौंडा उपमहानगरपालिकालाई हस्तान्तरण गरिएको छ ।

बागमती प्रदेश सरकारको ७० प्रतिशत र उपमहानगरपालिकाको ३० प्रतिशत लागत साझेदारीमा निर्माण भएको थोक बजार आईतवार आयोजित एक कार्यक्रमको बिच उद्घाटन एवं हस्तान्तरण गरिएको हो ।

कृषि तथा पशुपन्छी विकासमन्त्री प्रकाश श्रेष्ठ र नगर प्रमुख मिनाकुमारी लामाले संयुक्त रूपमा थोक बजार भवनको उद्घाटन गरेका हुन् ।

उद्घाटन समारोहमा मन्त्री श्रेष्ठले थोक बजारलाई प्रदेश सरकारले नमूना कार्यक्रमको रूपमा अघि बढाएको बताए । थोक बजार किसान, व्यवसायी र उपभोक्ता सबैलाई लक्षित गरी सञ्चालन हुने उनको भनाइ छ ।

किसान महासंघ, कृषक महासंघ लगायत कृषि क्षेत्रका सरोकारवालाहरूको समन्वयमा उपभोक्तालाई स्वस्थ तरकारी उपलब्ध गराउन यो बजारले महत्वपूर्ण भुमिका खेल्ने मन्त्री श्रेष्ठको विश्वास रहेको छ ।

प्रादेशिक थोक बजार सञ्चालन तथा व्यवस्थापनको सम्पूर्ण जिम्मा मन्त्रालयले उपमहानगरपालिकालाई हस्तान्तरण गरेको उनले बताए । यस्ता बजार हरेक पालिकामा विस्तार गर्ने योजना अनुरूप प्रविधिमैत्री थोक बजार निर्माणका लागि यस आर्थिक वर्षमा ९ वटा पालिकालाई बजेट विनियोजन गरिएको पनि उनले जानकारी गराए ।

मन्त्री श्रेष्ठले बागमती प्रदेशभित्र ८० प्रतिशत भन्दा बढी जमिन बाँझो रहेकोमा चिन्ता व्यक्त गरे ।उनले बाँझो रहेका जग्गालाई उपयोगमा ल्याउन तीनै तहका सरकारबिच समन्वय आवश्यक रहेकोमा जोड दिए । कृषि उपजको आयात घटाउँदै निर्यात बढाउन सबै जिम्मेवार हुनुपर्ने उनको भनाइ थियो । 

नगर प्रमुख लामाले कृषि थोक बजार किसानप्रतिको सम्मान भएको बताए । किसान लक्षित भवनमा मन्त्रालय राखेकोप्रति असन्तुष्टि जनाउँदै उनले किसानले सुविधासम्पन्न भवन प्रयोग गर्न पाउनुपर्ने धारणा राखे। नगर प्रमुख लामाले किसानलाई हेर्ने दृष्टिकोणमा परिवर्तन आवश्यक रहेकोमा जोड दिए।

कार्यविधि स्वीकृत भएर आएलगत्तै दशैँअघि नै बजार सञ्चालनमा ल्याउने बताउँदै नगर प्रमुख लामाले थोक बजार सञ्चालनको जिम्मा सिधै किसानलाई दिने उपमहानगरपालिकाको तयारी रहेको उल्लेख गरे ।

कुल ३२ करोड १० लाख रुपैयाँ लागतमा निर्माण गरिएको थोक बजारभित्रको पक्की सडक निर्माणका लागि कृषि विकास निर्देशनालयबाट थप ७७ लाख रुपैयाँ बजेट विनियोजन गरिएको थियो ।

कुल २ बिगाहा ४ धुर क्षेत्रफलमा फैलिएको बजारमा थोक बिक्रीका लागि दुई तलाको भवनमा ४० वटा सटर, तरकारी ओसारपसारका लागि ४ वटा कार्गो लिफ्ट र २ वटा यात्रु लिफ्टको व्यवस्था छ भने खुद्रा बिक्री भवनमा २३ वटा सटर र २ वटा यात्रु लिफ्ट छन् ।

साना किसानहरूलाई आफ्ना कृषि उत्पादन आफैँ बेच्न टहराको व्यवस्था पनि गरिएको छ । साथै २ सय ३२ वर्ग मिटरको च्याम्बरसहितको कोल्ड स्टोरेज पनि रहेको छ । जहाँ एक पटकमा ५ सय मेट्रिक टनसम्म कृषि उपज सुरक्षित भण्डारण गर्न सकिने बताइएको छ ।