नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ऋण तिरिसकेका ऋणीलाई १२ दिन कालोसूचीमा राखेर दियाे तनाव


काठमाडाैँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनएमआइबी) ले ऋण तिरिसकेका ऋणीलाई पनि १२ दिन कालोसूचीमा राखेर तनाव दिएकाे खुलेकाे छ ।

स्याङ्जाकाे वालिङ शाखाबाट ऋण लिएका व्यवसायी दीपक श्रेष्ठलाई ऋण तिर्दा पनि बैंकले कालोसूचीमा राखेर तनाव दिएकाे खुलेकाे हाे ।

वालिङ् ९ मा आँधीखोला मार्ट सञ्चालन गर्दै आएका व्यवसायी श्रेष्ठलाई बैंकले २०८२ असार २९ गते कर्जा सूचना केन्द्रमा कालोसूचीमा राख्न सूचना पठाएकाे हाे ।

“मैले ऋण लिएको ४-५ वर्ष भइसकेको थियो । असारको ३२ गते साँवाब्याज सबै भुक्तानी गरें । साउन ५ गते कालोसूचीमा राखिएको छ भनेर म्यासेज आयो । श्रीमतीको खाताबाट सबै भुक्तानी गरियो,” उनले भने, “बैंकले असार २९ गते कालोसूचीमा राख्न पठाएको रहेछ । मैले एकैपटक एक करोड ८३ लाख रुपैयाँ बुझाएको हो । अझ खाताबाट २०-२५ हजार रुपैयाँ निकाल्न बाँकी थियो । व्यवसाय गर्न मैले घरजग्गा बेचेर ऋण तिरेको थिएँ ।”

श्रेष्ठलाई बैंकको लापरवाहीका कारण साउन ४ गते कालोसूचीमा राखेको थियो भने साउन १६ गते कालोसूचीबाट हटाइसकेको छ । ऋण तिर्दा पनि कालोसूचीमा राखेको र कर्जा सूचना केन्द्रमा तीन पुस्ते नाम बसिरहने भएकोले त्यसलाई बैंकले जसरी पनि हटाउनुपर्ने बताए ।

यस विषयमा बुझ्न बैंकका सूचना अधिकारी र बैंकका वालिङ शाखा प्रमुखलाई सम्पर्क गरे पनि उनीहरू सम्पर्कमा आएनन् ।

Skip This