सिआइपी सम्मानमा ‘आउट’ भएपछि बैँक तथा वित्तीय क्षेत्र तरङ्गित,उद्योगमन्त्रीलाई ज्ञापनपत्र


काठमाडौँ । महत्वपूर्ण व्यवसायिक व्यक्ति (सिआइपी) सम्मानमा छुटेपछि बैँक तथा वित्तीय क्षेत्रमा तरङ्गित भएको छ ।

नेपालको अर्थतन्त्रमा महत्वपूर्ण भूमिका निर्वाह गर्दागर्दै पनि सिपिआइ सम्मानबाट बैंकर तथा लगानीकर्ताहरूको संस्था समेत नपरेपछि बैँक तथा वित्तीय क्षेत्रले अनौठो मानेको छ ।

यस विषयमा बैंक तथा वित्तीय संस्था परिसंघ (सिबिफिन)ले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोडर भण्डारीलाई भेटेर ज्ञापनपत्र समेत बुझाएको छ ।

सिबिफिनले आइतबार भेटेर बैँक तथा वित्तीय क्षेत्र सिआइपी सम्मानमा छुटेकाे भन्दै ज्ञापनपत्र बुझाएको हो ।

सरकारले यस वर्ष ३० व्यावसायिक कम्पनी तथा संस्थालाई महत्वपूर्ण व्यावसायिक व्यक्ति सिआइपी सम्मान प्रदान गरेको छ ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको आयोजना तथा नेपाल उद्योग वाणिज्य महासंघको सहकार्यमा सिआइपी सम्मान प्रदान गर्न थालिएको छ ।

यसमा बैँक तथा वित्तीय संस्था भने पूर्णरूपमा छुटेको छ । सिबिफिनको नेतृत्वसँगको भेटमा उद्योमन्त्री भण्डारीले बैंक तथा वित्तीय क्षेत्र छुटेको आश्चर्य व्यक्त गरेका थिए ।

मन्त्री भण्डारीले मन्त्रालयका सचिव डा. रामप्रसाद घिमिरेलाई आवश्यक परे कार्यविधि सच्याउने व्यवस्था गर्न निर्देशन दिएका थिए ।

महत्वपूर्ण व्यावसायिक व्यक्ति छनौट,सम्मान एवम् सुविधा सम्बन्धी कार्यविधि कार्यविधिमा ‘आन्तरिक वस्तुको बजार विस्तार गरी निर्यात प्रवद्र्धन, लगानी वृद्धि, रोजगारीको अवसरको सिर्जना गरी राष्ट्रिय अर्थतन्त्रलाई सुदृढ र सवल बनाउन योगदान पुर्‍याउने महत्वपूर्ण व्यावसायिक व्यक्ति भनी नेपाल सरकारद्वारा घोषणा गरिएका व्यवसायी,संघ संस्था र सो संस्थाको तर्फबाट ‘सिआइपी’ को पदवी धारण गर्ने व्यक्तिलाई मानिने उल्लेख छ ।

यसपटक सम्मानमा बैंक तथा वित्तीय क्षेत्रबाट संस्था वा संस्थाबाट प्रतिनिधित्व गर्ने व्यक्ति कोही पनि परेका छैनन् ।

कार्यविधिमा‘विगत दुई वर्षमा देशको निर्यात,लगानी, रोजगारी,विप्रेषण,पर्यटन लगायतका क्षेत्रमा उल्लेख्य योगदान पुर्‍याई उत्कृष्ट ठहरिएका व्यवसायी एवं यस क्षेत्रमा महत्वपूर्ण योगदान पुर्‍याउने उद्यमी व्यवसायीहरू एवं तिनका प्रतिनिधिमूलक संस्थाका अध्यक्षहरूलाई महत्वपूर्ण व्यवसायिक व्यक्ति (सिआइपी) को रूपमा सम्मान प्रदान गर्न सकिनेछ’ भनेर उल्लेख गरिएको छ ।

बैंक तथा वित्तीय क्षेत्रलाई सिआइपी सम्मानमा नपारिएकोमा सिबिफिनका महासचिव प्रचण्डबहादुर श्रेष्ठले आश्चर्य व्यक्त गरे ।

हिमालयन बैंकको अध्यक्ष समेत रहेका महासचिव श्रेष्ठले नेपालको अर्थतन्त्रमा बैंक तथा वित्तीय क्षेत्रको महत्वपूर्ण योगदान हुँदाहुँदै पनि सरकारले छुटाएकोमा अनौठो माने ।

उनले भने,“व्यापारिकरूपमा महत्वपूर्ण व्यक्ति भनेपछि अर्थतन्त्रमा योगदान गर्ने भन्दा बैंक तथा वित्तीय क्षेत्र ठुलो छ । उनीहरूलाई किन पहिचान नगरेको भन्ने एउटा कुरा हो । निर्यातमा आधारित भन्ने हो भने बैंकहरूको पनि योगदान हुन्छ नै ।”

उनले यस विषयमा सिबिफिनलाई पनि जोड्नुपर्ने बताए । उनले भने,“नेपालको अर्थतन्त्रमा हाम्रो पनि महत्वपूर्ण योगदान छ । संस्थागत हिसाबले सिविफिन हुनुपर्ने हो ।”

यस विषयमा सरकारलाई ध्यानाकर्षण समेत गराएको उनले जानकारी दिए ।

Skip This