कक्षा १२ पास विद्यार्थीलाई प्रधानमन्त्री ओलीको बधाईः नेपालमै केही गर्ने नयाँ यात्राको सुरूवात गरौं


काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले कक्षा १२ को नतिजा सार्वजनिक भएपछि सामाजिक सञ्जालमार्फत विद्यार्थीहरूलाई बधाई दिएका छन्।

हाल तुर्कमेनिस्तानमा जारी भूपरिवेष्ठित विकासशील देशहरूको अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी रहेका ओलीले आफ्नो फेसबुक स्टाटसमार्फत नतिजा सार्वजनिक भएको जानकारी पाएको उल्लेख गर्दै सबै विद्यार्थीहरूलाई बधाई दिएका हुन्।

“भूपरिवेष्ठित विकासशील देशहरूको अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन यता म तुर्कमेनिस्तानमा छु। उता नेपालमा कक्षा १२ को रिजल्ट आयो भन्ने थाहा पाएँ। बधाई नानीबाबुहरू! तपाईंहरूको मेहनत सफल भयो, अब नेपालमै पढ्ने र देशमै केही गर्ने नयाँ यात्राको सुरुवात गरौं। फेरि पनि बधाई सबैलाई,”ओलीले लेखेका छन् ।

उनले मेहनतले दिलाएको सफलतापछि अब देशमै अवसर खोज्न र योगदान दिन आह्वान समेत गरेका छन्।