काठमाडौँ । उच्च अदालत पाटनले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई दुईवटा फरक मुद्दामा धरौटीमा रिहा गर्न आदेश दिएको छ।
सोमबार मुख्य न्यायाधीश सुदर्शनदेव भट्ट र न्यायाधीश मुनेन्द्रप्रसाद अवस्थीको संयुक्त इजलासले बैंकिङ कसुरसम्बन्धी मुद्दा र १५ चैतमा भएको राजावादी आन्दोलनसँग जोडिएको हिंसात्मक प्रदर्शनको मुद्दामा धरौटीमा छाड्न आदेश दिएको हो। तीनकुने घटनामा प्रसाईँसँग उच्च अदालतले ३ लाख मात्रै धरौटी माग गरेको छ।
बैंकिङ कसुरसम्बन्धी मुद्दामा अदालतले प्रसाईंलाई २५ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको हो। यो मुद्दामा १८ करोड ४४ लाख रुपैयाँ बिगो दाबी गरिएको छ। थुनछेक बहसपछि अदालतले उनी क्यान्सर रोगबाट पीडित रहेको स्वास्थ्य अवस्थालाई समेत मध्यनजर गर्दै धरौटीमा रिहा गर्न आदेश दिएको हो।
यस्तै, १५ चैतमा भएको हिंसात्मक प्रदर्शनसँग सम्बन्धित मुद्दामा पनि उच्च अदालत पाटनले आजै प्रसाईंलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ। सो मुद्दामा राज्यविरुद्धको कसुर, कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र आपराधिक उपद्रवलगायतका अभियोगमा जिल्ला अदालत काठमाडौँमा मुद्दा दर्ता गरिएको थियो। जिल्ला अदालतले उनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएपछि उनी डिल्लीबजार कारागारमा थुनामा थिए।
प्रसाईंले जिल्ला अदालतको आदेशविरुद्ध उच्च अदालत पाटनमा निवेदन दिएका थिए। अदालतले तत्काल प्राप्त प्रमाणका आधारमा उनी निर्दोष ठहर गर्न नसकिने भए पनि स्वास्थ्य अवस्था र मुद्दाको प्रकृति विश्लेषण गर्दै दुवै मुद्दामा धरौटीमा रिहा गर्न आदेश दिएको हो।
प्रतिक्रिया दिनुहोस्