धरौटीमा रिहा भएपछि प्रसाईंले भनेः म देशकै लागि थिएँ, छु र रहिरहनेछु


काठमाडौँ । चिकित्सा व्यवसायी दुर्गा प्रसाईं सोमबार उच्च अदालत पाटनको आदेशपछि दुईवटा फरक मुद्दामा धरौटीमा रिहा भएपछि सामाजिक सञ्जालमार्फत भावुक अभिव्यक्ति दिएका छन्। उनले आफू न्यायको जीतका साथ रिहा भएको उल्लेख गर्दै, अदालत, समर्थक र सम्पूर्ण नेपाली जनताप्रति आभार व्यक्त गरेका छन्।

“सम्मानित उच्च अदालतको आदेशले म आज कारागार मुक्त भएको छु। सर्वप्रथम त यस अवधिमा साथ, सहयोग र हौसला प्रदान गर्ने देश तथा बिदेशमा रहनुभएका समस्त नेपालीजनमा हार्दिक आभार व्यक्त गर्दछु,”फेसबुक स्टाटसमार्फत प्रसाईंले भनेका छन् ।

उनले अदालतको आदेशलाई सदैव सम्मान गर्दै आफू खुशीसाथ जेल गएको र अब भावी देश निर्माणको योजनासहित घर फर्किरहेको जनाएका छन्। “म मेरो लागि हैन, देशकै लागि थिएँ, छु र रहिरहनेछु,” भन्दै उनले आफूले गर्ने कार्य देश र जनताको पक्षमा रहने बताएका छन्।

प्रसाईंले जेल जीवनलाई पनि ‘घर’जस्तै अनुभूति भएको बताएका छन्। “मेरा लागि सारा नेपाल मेरो घर हो, कारागार पनि मलाई घरभन्दा फरक लागेन,” उनले लेखेका छन्।

उनले कारागारमा रहँदा साथ दिने नेपाल प्रहरी, कारागार प्रशासन र अन्य कैदीबन्दीहरूप्रति पनि कृतज्ञता प्रकट गरेका छन्।

सोमबार उच्च अदालत पाटनका मुख्य न्यायाधीश सुदर्शनदेव भट्ट र न्यायाधीश मुनेन्द्रप्रसाद अवस्थीको संयुक्त इजलासले दुर्गा प्रसाईंलाई दुई फरक मुद्दामा धरौटीमा रिहा गर्न आदेश दिएको थियो।

बैंकिङ कसुरसम्बन्धी मुद्दामा २५ लाख रुपैयाँ धरौटी तोकिएको छ। यस मुद्दामा १८ करोड ४४ लाख रुपैयाँ बिगो दाबी गरिएको थियो। अदालतले क्यान्सर पीडित प्रसाईंको स्वास्थ्य अवस्थालाई समेत मध्यनजर गर्दै धरौटीमा रिहा गर्ने आदेश दिएको हो।

त्यस्तै, १५ चैतमा भएको हिंसात्मक प्रदर्शन सम्बन्धी मुद्दामा उच्च अदालतले ३ लाख रुपैयाँ धरौटी माग गर्दै रिहा गर्ने आदेश दिएको छ। यस मुद्दामा उनीविरुद्ध राज्यविरुद्धको कसुर, ज्यान मार्ने उद्योग, कर्तव्य ज्यानलगायत अभियोग लगाइएको थियो। यसअघि जिल्ला अदालतले उनलाई पुर्पक्षका लागि थुनामा पठाएको थियो।

प्रसाईंले जिल्ला अदालतको आदेशविरुद्ध उच्च अदालतमा निवेदन दिएका थिए। अदालतले प्रमाणको आधारमा दोषी ठहर गर्न नसकिने भए पनि मुद्दाको प्रकृति र स्वास्थ्य अवस्थालाई ध्यानमा राख्दै उनीलाई रिहा गरेको हो ।

Skip This