काठमाडौँ । बढ्दो घाटाकाबिच निजी मोबाइल सेवा प्रदायक कम्पनी एनसेलका प्रमुख कार्यकारी अधिकृत (सिइओ)ले राजीनामा दिएका छन् ।
कम्पनीको रजत जयन्ती (२५ औं वर्ष) मनाउँदासम्म एनसेललाई थप नयाँ उचाईमा लैजाने दाबी गर्दै आएका सिइओ जाब्बोर कायुमोभले ‘पारिवारिक कारण’ देखाउँदै एकाएक राजीनामा दिएका हुन् । एनसेलले आगामी वर्ष आफ्नो स्थापनाको रजत जयन्ती मनाउँदैछ ।
एनसेलको आम्दानी पछिल्ला केही वर्षदेखि लगातार घटिरहेको छ । आर्थिक वर्ष २०७९/८० मा एनसेलले ३९ अर्ब ७२ करोड ५० लाख रुपैयाँ आम्दानी गरेको थियो, जुन आर्थिक वर्ष २०८०/८१ मा ३७ अर्ब ४४ करोड २० लाख रुपैयाँमा झर्यो ।
आर्थिक वर्ष २०८१/८२ मा पनि यसको आम्दानी अझै घटेर ३४ अर्ब ६ करोड ८० लाख रुपैयाँ पुग्ने अनुमान रहेको इक्रा नेपालले उल्लेख गरेको छ ।
यो आम्दानी घट्नुको मुख्य कारण भनेको बजारमा एनसेलको हिस्सा घट्दै जानु हो । सन् २०७९/८० तिर एनसेलको मोबाइल सेवाबाट आउने आम्दानीमा ६१ प्रतिशत बजार हिस्सा थियो, जुन अहिले घटेर ५३ प्रतिशतमा झरेको छ ।
मोबाइल सेवामाकल, डेटा प्रयोगबाट आउने प्रति ग्राहक आम्दानीे घट्दै जाँदा एनसेल प्रभावित भएको हो । इक्रा नेपालका अनुसार पहिलेको स्वामित्व परिवर्तनमा लागेको कर विवादका कारण एनसेलमा ८६ अर्ब रुपैयाँ बराबरको ठुलो आकस्मिक दायित्व छ ।
एनसेल लामो समयदेखि सेयर खरिद–बिक्री र कर विवादमा पर्दै आएको छ भने सन् २०२९ पछि लाइसेन्सबारे अन्योल छ ।
एनसेलको प्रारम्भिक २५ वर्षको लाइसेन्स अवधि सेप्टेम्बर २०२९ मा समाप्त हुँदैछ । लाइसेन्ससम्बन्धी अन्योलकै कारण तत्काल फाइभजीमा लगानी गर्न नसकिने कायुमोभले एक कार्यक्रममा बताएका थिए ।
अप्ठेरो अवस्थाकैबिच एनसेलका सिइओ कायुमोभले राजीनामा दिएका हुन् । उनले अनौपचारिक रूपमा एनसेल स्थापनाको रजत वर्षलाई भव्य बनाउने र कम्पनीलाई पनि एउटा उचाईमा पुर्याउने दाबी गर्दै आएका थिए ।
२०८० वैशाख २७ देखि सिइओ तथा प्रबन्धसञ्चालक बनेका कायुमोभले राजीनामा दिएपछि सइद एमडी एनामुल कबिरलाई कायममुकायम सिइओको जिम्मेवारी दिइएको कम्पनीले जनाएको छ ।
स्वामित्व सेयर खरिदबिक्री प्रकृयाको विवादका बेला दुई वर्षअघि कायुमोभ एनसेलमा सिइओ बनेर भित्रिएका थिए । २०५८ सालमा दूरसञ्चार सेवाका क्षेत्रमा भित्रिएको निजी कम्पनी एनसेल प्रारम्भिक कालदेखि नै विवादमा मुछिँदै आएको छ ।
मलेसियाको टेलिकम कम्पनी आजियाटा एनसेलबाट बाहिरिने निर्णयसँगै तत्कालीन एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध सञ्चालक एन्डी चोङ्को ठाउँमा जब्बोर आएका थिए ।
मलेसियाको टेलिकम कम्पनी आजियाटाले नेपालको एनसेलमा रहेको आफ्नो ८० प्रतिशत सेयर बेलायतको स्पेक्ट्रलाइट युके लिमिटेडलाई बिक्री गरी नेपालबाट बाहिरिएको थियो ।
सतिशलाल आचार्यका नाममा रहेको ‘स्पेक्ट्रलाइट यूके’ कम्पनीले एनसेलको ८० प्रतिशत सेयर खरिद गरेको सार्वजनिक भएको थियो । ‘स्पेक्ट्रलाइटले जम्मा ६ अर्ब ६५ करोड रुपैयाँमा किनबेच गरेको सार्वजनिक भएपछि हल्लाखल्ला भएको थियो । जबकि ८० प्रतिशत सेयर होल्डर मलेसियन कम्पनी आजियाटाले टेलियासोनेरासँग किन्दा ६ वर्षअघि नै यसलाई १ खर्ब ४३ अर्ब तिरेको थियो ।
कर छल्ने मनासयका साथ नेपालबाहिरै ऐनसेलको सेयर किनबेच भएको भन्दै चर्को विरोध समेत भएको थियो । विवादकै आसपासमा जाब्बोर एनसेल भित्रिएका थिए ।
तत्कालीन समयमा एनसेलको सेयर खरिद–बिक्री प्रकरणमा कम्पनीका सिइओ जाब्बोरको भूमिका पनि विवादित देखिएको भन्दै आलोचना भएको थियो ।
मलेसियन कम्पनी आजियाटा ग्रुप बहार्डको स्वामित्वमा रहेको एनसेलको ८० प्रतिशत सेयर नेपालीमूलका व्यापारी सतिशलाल आचार्यको कम्पनीले किनेको छ ।
व्यापारी आचार्यसँग जाब्बोरको पुरानो सम्बन्ध रहेको र एनसेलको ८० प्रतिशत सेयर खरिद बिक्री प्रक्रियामा पनि भूमिका खेलाउन उनी सिइओ बनेको आरोप लागेको थियो ।
जाब्बोरले टेलिया सोनेरा, हालको टेलिया कम्पनीमा काम गरेका थिए । यसले व्यापारी आचार्यसँग जब्बोरको पुरानो सम्बन्ध रहेको र ऐनसेलको सेयर खरिदबिक्रीमा किनबेचमा चलखेल भएको आरोप लागेको थियो ।
जाब्बोरले आचार्यको समेत लगानी रहेको स्मार्ट टेलिकममा सन् २०१३ देखि सन् २०१६ सम्म साढे तीन वर्ष स्मार्ट टेलिकमको सीओओ र सिइओको रूपमा काम गरेका थिए । कायुमोभले पछिल्लो समय आम्दानी सङ्कुचन हुँदै जाँदा दूरसञ्चार क्षेत्र सङ्कटतर्फ धकेलिएको सार्वजनिक रूपमा बोल्दै आएका थिए ।
प्रतिक्रिया दिनुहोस्