काठमाडौँ । गोल्यान ग्रुपले आफ्नो ६५ औं वार्षिकोत्सवको अवसरमा नयाँ ब्रान्ड फिल्म सार्वजनिक गरेको छ।
‘गोल्यान फर ग्रोथ’ अर्थात् विकासका लागि गोल्यान भन्ने शीर्षकमा निर्माण गरिएको यस फिल्ममा कम्पनीको यात्रा र त्यससँगै अघि बढेका नेपालीहरूको जीवन कथाहरूलाई दृश्यात्मक रूपमा प्रस्तुत गरिएको छ।
यस फिल्ममा गोल्यान ग्रुपले कृषि, उत्पादन, रियल स्टेट, आतिथ्य सत्कार र नवीकरणीय ऊर्जा क्षेत्रहरूमा गरेको लगानीले व्यक्ति, समुदाय र राष्ट्रका लागि सिर्जना गरेका अवसरहरूलाई उजागर गरिएको छ।
सन् १९६० मा स्थापना भएको गोल्यान ग्रुपले हाल देशभर २५ भन्दा बढी व्यवसाय सञ्चालन गर्दै आएको छ। गोल्यान ग्रुपमा ६ हजारभन्दा बढी कर्मचारी कार्यरत छन् भने वार्षिक आम्दानी चार सय मिलियन अमेरिकी डलरभन्दा बढी रहेको जनाइएको छ।
कम्पनीले ‘नेपालमै मूल्य सिर्जना’ गर्ने सिद्धान्त अनुरूप रोजगारी सिर्जना, पूर्वाधार निर्माण, स्थानीय उत्पादन तथा निर्यात प्रवर्द्धनमा जोड दिएको जनाएको छ। उक्त ब्रान्ड फिल्मले यिनै प्रतिबद्धतालाई सरल र मानवकेन्द्रित शैलीमा प्रस्तुत गरेको बताइएको छ।

ग्रुपका अनुसार फिल्म कम्पनीको दृष्टिकोणबाट नभए ती मानिसहरूको आँखाबाट प्रस्तुत गरिएको छ जसको जीवनमा समूहको प्रयासले सकारात्मक परिवर्तन ल्याएको छ। सौर्य ऊर्जाबाट उज्यालो पाएका बालबालिका, उचित बजार पाएका किसान र आत्मनिर्भर बनेका मजदुरहरूको कथा फिल्ममा समावेश छ।
गोल्यान ग्रुपका प्रबन्ध निर्देशक अक्षय गोल्यानले फिल्मबारे प्रतिक्रिया दिँदै भने, “यो फिल्म कम्पनीबारे होइन, ती व्यक्तिहरूको कथा हो । जसको जीवन र प्रयासले हाम्रो यात्रालाई आकार दिएको छ।”
ऊर्जा पहुँच विस्तार, उचित बजारको उपलब्धता, रोजगारी सिर्जना तथा समग्र नेपाली अर्थतन्त्रको सुदृढीकरणमार्फत समूहले विगत ६५ वर्षमा योगदान दिँदै आएको छ।
गोल्यान ग्रुपले विगतमा निर्यात र रोजगारीमा उत्कृष्ट योगदान पुर्याएकोमा नेपाल सरकारबाट ‘व्यापारिक रूपमा महत्त्वपूर्ण व्यक्ति ‘सीआईपी’ को उपाधि सन् २०२५ र २०२० मा प्राप्त गरिसकेको छ। साथै, उत्कृष्ट निर्यातक तथा रोजगारदाता पुरस्कार (२०२५), सर्वोच्च निर्यातक पुरस्कार (२०२४) र औद्योगिक सम्बन्धमा उत्कृष्टता पुरस्कार (२०२२) समेत प्राप्त गरेको छ।
प्रतिक्रिया दिनुहोस्