काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चर्स एसोसिएसन (नाइमा) द्वारा पहिलो पटक आयोजना गरिएको ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५’ आजदेखि सुरू हुँदैछ।
राजधानीको भृकुटीमण्डपमा सुरू हुने यो एक्स्पो साउन २५ गतेसम्म सञ्चालन हुनेछ। नाइमा अध्यक्ष रितु सिंह वैद्यका अनुसार, एक्स्पो नेपालमै अहिलेसम्मको सबैभन्दा ठूलो र समावेशी अटो प्रदर्शनी बन्नेछ। दिगो र प्रविधिमैत्री यातायात प्रणालीप्रतिको सोचका साथ आयोजना गरिएको उक्त प्रदर्शनीमा १५ ओटा दुईपांग्रे, १५ ओटा चारपांग्रे र ५ ओटा व्यावसायिक सवारीसाधनसहित कुल ३५ नयाँ मोडेलहरू सार्वजनिक गरिनेछन्।
एक्स्पोका संयोजक शिरीष कुमार मराबले भृकुटीमण्डपमा आयोजित पाँचदिने प्रदर्शनीमा विभिन्न ब्राण्डका सवारी साधन, प्रविधि, इन्भेष्टमेन्ट र भविष्यका यातायातसम्बन्धी सम्भावनाको झलक पाइने जानकारी दिए।
एक्स्पोमा खल्ती बाई आईएमई (टिकेटिङ पार्टनर), माउण्टेन ड्यू (बेभरज पार्टनर), हिमालयन जाभा (ब्रुइङ पार्टनर), पठाओ (राइड पार्टनर), एचआईके भिजन (सर्भेलेन्स पार्टनर), वर्ल्ड लिङ्ग (कनेक्टिभिटी पार्टनर), सोल्टी होटल (हस्पिटालिटी पार्टनर), फ्रन्टलाइन हस्पिटल (मेडिकल पार्टनर), एनसेल (टेलिकम पार्टनर) र मिडिया स्पेस सोल्युशन (म्यानेजमेन्ट पार्टनर) लगायत विभिन्न संस्थाको सहकार्य रहेको छ।
राइड पार्टनर पठाओले एक्स्पो अवधिमा भृकुटीमण्डप गन्तव्यमा जाने यात्रुहरूलाई ३० प्रतिशतसम्म छुट दिनेछ। फ्रन्टलाइन हस्पिटलले चौबीसै घण्टा एम्बुलेन्ससहितको आकस्मिक स्वास्थ्य सेवा प्रदान गर्ने व्यवस्था मिलाएको छ।
नाइमाले एक्स्पो सन्दर्भमा अनलाइन भिडियो प्रतियोगितासमेत आयोजना गरेको छ। सहभागीहरूले सामाजिक सञ्जालमा एक्स्पोसँग सम्बन्धित भिडियोहरू पोस्ट गर्न सक्नेछन्। उत्कृष्ट भिडियो बनाउने एक जनालाई नगद १ लाख रुपैयाँ प्रदान गरिनेछ भने साउन २१ देखि २५ सम्म पोस्ट गरिएका उत्कृष्ट १० भिडियोलाई जनही १० हजार रुपैयाँ पुरस्कार दिइनेछ।
प्रतिक्रिया दिनुहोस्