काठमाडौँ । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सडक पूर्वाधार नभई अटो क्षेत्रको प्रगति सम्भव नभएको बताएका छन् ।
नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चर्स एसोसिएसन (नाइमा) को आयोजनामा आयोजित ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५’ को उद्घाटन समारोहमा उनले सरकारको प्राथमिकता गुणस्तरीय सडक पूर्वाधारमा रहेको बताएका हुन् ।
उनले अटोमोबाइल क्षेत्रको प्रगति सडक पूर्वाधारसँग प्रत्यक्षरूपमा जोडिएको उल्लेख गर्दै सरकारले यसतर्फ विशेष ध्यान दिइरहेको स्पष्ट पारे।
अर्थमन्त्री पौडेलले नाइमाले स्थापना भएको छोटो समयमै प्रभावशाली गतिविधि थालेको भन्दै प्रशंसा गरे। प्रदर्शनी व्यवस्थित रहेको र अटोमोबाइल क्षेत्रमा प्रगति भएको महसुस भएको भन्दै उनले नाइमाको उद्देश्यमा सफलताको शुभकामना दिएका छन् ।
उनले भने, “सडक पूर्वाधार व्यवस्थित नभई अटोमोबाइल क्षेत्रको समुचित विकास सम्भव छैन, त्यसैले हामीले सडक पूर्वाधारलाई प्राथमिकतामा राखेका छौं।”
हुलाकी सडकजस्तो दीर्घकालीन योजनालाई सरकारले तीव्र रूपमा अघि बढाएको, मध्यपहाडी लोकमार्ग निर्माण कार्य भइरहेको र सञ्चालनमा रहेका अन्य राजमार्गहरू पनि गुणस्तरीयरूपमा निर्माण भइरहेको जानकारी दिए ।
उनले शहरी क्षेत्रमा धुलो र हिलो मुक्त सडक निर्माणमा सरकार सक्रिय रहेको उल्लेख गरे। भृकुटीमण्डपमा रहेको अहिलेको असुविधाजनक अवस्थालाई हटाउँदै अन्तर्राष्ट्रिय स्तरको प्रदर्शनी हल निर्माण गर्ने सरकारको योजना रहेको उनकाे उनकाे भनाइ छ ।
चालू आर्थिक वर्षको बजेटमै यसको योजना समेटिएको भन्दै उनले सबै संरचना हटाएर अत्याधुनिक प्रदर्शनी हल निर्माण गरिने र ढिलोमा तीन वर्षभित्र सम्पन्न गरिने दाबी गरे।
साथै उनले अन्तर्राष्ट्रिय निर्माण व्यवसायीलाई ल्याएर काम गरिने समेत बताएका छन् । बजेट निर्माणको विषयमा अर्थमन्त्री पौडेलले यसपटक निजी क्षेत्रसँग व्यापक छलफल गरेर नीति बनाइएको उल्लेख गरे ।
उनले भने, “यो बजेट अर्थमन्त्रीले होइन, निजी क्षेत्रले बनाएको बजेट हो । यसमा कार्यान्वयनको जिम्मा पनि सरकारले लिएको छ।” उनले नीतिगत स्थायित्व व्यवसाय प्रवर्द्धनको मुख्य पक्ष भएको उल्लेख गर्दै अहिलेको नीति स्थिर रहेको र निजी क्षेत्रको मनोबल उच्च बनाउने हिसाबले बजेट निर्माण गरिएको धारणा राखे।
उनले निजी क्षेत्रलाई सरकारसँग सहकार्य गर्दै बजेट कार्यान्वयनमा सहयोग गर्न पनि आग्रह गरे। प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा आर्थिक सूचकहरूमा सुधार देखिएको उल्लेख गर्दै उनले समग्रमा देश आर्थिक रूपले अघि बढ्दै गरेको र सरकार त्यसमा प्रतिबद्ध रहेको बताए।
प्रतिक्रिया दिनुहोस्