काठमाडौँ । लक्ष्मी ई-मोबिलिटीले चिनियाँ विद्युतीय सवारी ब्रान्ड ‘फोर्थिङ’ नेपाली बजारमा ल्याएको छ। यो ब्रान्डको पहिलो मोडेल ‘फ्राइडे ईभी’ आज काठमाडौंको भृकुटीमण्डपमा आयोजित नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५’ को उद्घाटन समारोहका अवसरमा सार्वजनिक गरिएको हो।
विगत पाँच दशकदेखि नेपाली बजारमा क्रियाशील लक्ष्मी समूहले हुन्डाई, बीएमडब्लू, एसएमएल इसुजु, काल्की, कान्य लगायतका चर्चित ब्रान्डमार्फत सवारी साधन तथा अटो पार्ट्स वितरण गर्दै आएको छ। यो समूह अब ‘फोर्थिङ’ जस्ता अत्याधुनिक प्रविधियुक्त र वातावरणमैत्री सवारी साधनमार्फत विद्युतीय सवारी क्षेत्रमा पनि आफ्नो सशक्त उपस्थिति जनाउन थालेको छ।
सन् २०२४ को मे महिनामा लक्ष्मी समूहले नवलपरासीको रामग्रामस्थित लक्ष्मी मोटर कर्पोरेशन नामक नेपालकै पहिलो चारपाङ्ग्रे सवारीको एसेम्बल प्लान्ट सञ्चालनमा ल्याएको थियो।
यो केन्द्र विशेषतः हुन्डाई सवारीका लागि निर्माण गरिएको हो र यसले नेपालमा सवारी साधनको औद्योगिक विकासमा ऐतिहासिक योगदान पुर्याएको छ। साथै, कम्पनीले ‘री लक्स’ नामक विद्युतीय सवारी चार्जिङ तथा मर्मत सञ्जाल पनि देशभर ६३ भन्दा बढी स्थानमा विस्तार गरी प्रयोगकर्ताको सुविधा सुनिश्चित गरेको छ।
नेपालमा सार्वजनिक गरिएको ‘फ्राइडे ईभी’ दुई मोडेल (लक्जरी र विशिष्ट) मा उपलब्ध छ। यसको मूल्य क्रमशः ५० लाख ९६ हजार र ५६ लाख ९६ हजार रुपैयाँ तोकिएको छ। नाइमा प्रदर्शनीको विशेष अफर अन्तर्गत यी दुवै मोडेलमा दुई लाख रुपैयाँ छुट र एक वर्षको निःशुल्क सवारी बीमा उपलब्ध गराइएको छ। यसअनुसार, ग्राहकले लक्जरी मोडेल ४८ लाख ९६ हजार र विशिष्ट मोडेल ५४ लाख ९६ हजार रुपैयाँमा खरिद गर्न सक्नेछन्।
फ्राइडे ईभीमा ६४ दशमलव ४ किलोवाटको ब्याट्री र ९९ किलोवाट क्षमताको मोटर जडान गरिएको छ, जसले एकपटक चार्ज गरेपछि ४ सय किलोमिटरभन्दा बढी दूरी पार गर्न सक्ने कम्पनीको दाबी छ।
यसको भित्री सजावट पूर्ण रूपमा आरामदायी, प्रविधिमैत्री प्रयोग र सहजतालाई ध्यानमा राखेर तयार पारिएको छ। यसमा मसाज सुविधा भएको खेलकुद सिट जडान गरिएको छ भने विशिष्ट मोडेलमा विद्युतीय गाडीको पछाडिको ढोका आफैं खुल्ने प्रविधि पनि समावेश गरिएको छ।
प्रतिक्रिया दिनुहोस्