काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एशोसिएशन (नाइमा) की अध्यक्ष ऋतुसिंह वैद्यले नेपालको अटोमोबाइल तथा मोबिलिटी क्षेत्रले मुलुकको आर्थिक वृद्धिमा उल्लेख्य योगदान दिँदै आएको बताउँदै यस क्षेत्रलाई राज्यले प्राथमिकतामा राख्नुपर्ने बताएकी छन् ।
बुधवारबाट सुरु भएको नाममा मोबिलिटि एक्स्पोको उद्घाटन शत्रमा बोल्दै अध्यक्ष वैद्यले यो क्षेत्रले सेवा क्षेत्रमा मात्रै करिब ४ दशमलव ७ प्रतिशत रोजगारी सिर्जना गरेको तथ्यले देखाउने भन्दै जुन आफैँमा महत्वपूर्ण रहेको बताइन् ।
अध्यक्ष वैद्यले भनिन्–‘हामीले विद्युतीय सवारी साधनको आयातसँगै देखिएको नयाँ अवसरलाई उपयोग गर्दै सीटीईभीटी र शिक्षा मन्त्रालयसँग सहकार्यमा सीप विकासमा लगानी बढाइरहेका छौं । युवाहरूलाई रोजगारी योग्य बनाउन आवश्यक सीप दिने उद्देश्यले श्रमशक्ति विकास अभियानमा नाइमा सक्रिय रूपमा लागेको छ ।’
यसले स्वास्थ्य, पर्यटन र वित्तीय सेवाजस्ता क्षेत्रसरह हजारौं नेपालीलाई प्रत्यक्ष र अप्रत्यक्ष रूपमा रोजगारीमा जोडेको वैद्यको भनाई छ ।
उनकाअनुसार विशेषगरी, हरित प्रविधिमा आधारित सवारी साधनको आगमनसँगै चार्जिङ पूर्वाधार निर्माण, प्रविधिक प्रशिक्षण, र नवप्रवर्तनमा आधारित कामका अवसरहरू सिर्जना भएको छ ।
नाइमा अटोमोबाइल आयातकर्ता तथा उत्पादकहरूको साझा आवाजका रूपमा कार्य गर्दै आएको उल्लेख गर्दै वैद्यले भनिन् ‘गुणस्तरीय सेवा, जनशक्ति विकास र शहरदेखि गाउँसम्म सवारीसाधन तथा सेवा पहुँच पु¥याउने दिशामा नाइमाले आगामी दिनमा काम गर्नेछ ।
बुधवारबाट शुरु भएको नाइमा मोबिलिटी एक्सपोमा २५ गतेसम्म काठमाडौंको भृकुटीमण्डपस्थित प्रदर्शनी स्थलमा आयोजना हुनेछ । एक्स्पोमा ५० भन्दा बढी ब्राण्डको सहभागिता रहेको नाइमाले जनाएको छ ।
एक्स्पोको उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले उद्घाटन गरेको एक्स्पोमा १५ दुईपाङ्ग्रे, १५ चारपाङ्ग्रे र ५ व्यवसायिक नयाँ सवारीसाधनहरु सार्वजनिक गरिने यस प्रदर्शनी स्थलमा अपांगमैत्री संरचना, सुधारिएको ढल निकास व्यवस्था र सुरक्षा तथा आपतकालीन सेवाको व्यवस्था मिलाइएको नाइमाले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्