लुम्बिनी क्षेत्रको काम अपेक्षाकृत छैनः मन्त्री पाण्डे


संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले लुम्बिनी क्षेत्र विकास कोषको कार्यप्रगति अपेक्षाकृत हुन नसकेको बताएका छन् । अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बुधवारको बैठकमा बोल्दै उनले असन्तुष्टि व्यक्त गरेका हुन् ।

काम निरन्तर भइरहेको तर अपेक्षाअनुसार हुन नसकेको बताउदै आगामी दिनमा अझ गतिका साथ काम अघि बढाउनुपर्ने जिकिर गरे। लुम्बिनी क्षेत्रको विकासका लागि कुनै राजनीतिक आग्रह र पूर्वाग्रह नराखि काम गरेपनि लुम्बिनीमा केही भूराजनीतिक गतिविधिहरु पनि व्यहोर्नुपर्ने रहेकाले त्यसको पनि समाधान गरेर अघि बढ्न जरुरी देखिएको उनकाे भनाइ थियाे ।

“काम भएको छ । निरन्तर अघि बढेको छ । हामीले लुम्बिनीलाई जसरी सोचिरहेका छौँ, त्यो अपेक्षाअनुसार भएको छैन,” मन्त्री पाण्डेले भने, “राजनीतिक आग्रह, पूर्वाग्रह नराखिकन मैले सहयोग गरिरहेको छु । तत्काल गर्नुपर्ने कामको सन्दर्भमा ऐन नै परिवर्तन गर्नुपर्नेछ ।”

समितिको बैठकमा बुधवार लुम्बिनी विकास कोषको वर्तमान अवस्था, प्रगति र चुनौती लगायतका विषयमा समसामयिक छलफल भएको हो ।