काठमाडौं .नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले नेपाली काँग्रेस भन्दा नेकपा एमाले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) जस्ताको त्यस्तै पास हुनुपर्छ भन्नेमा बढी पक्षधर रहेको आरोप लगाएका छन् ।
काठमाडौंमा बुधवार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै दाहालले एमसीसी जस्ताको त्यस्तै हुनुपर्छ भन्नेमा काँग्रेस सभापति शेरबहादुर देउवा भन्दा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली झनै कडा पाएको बताएका हुन् । दाहालले एमसिसी जस्ताको त्यस्तै पास गर्न दिनु हुँदैन भनेर एमालेसँग छलफल गर्दा काँग्रेस भन्दा बढी पक्षधर रहेको पाएको बताए । एमसिसी जस्ताको त्यस्तै पास हुन नदिनका लागि काँग्रेस र एमालेसँग बारम्बार छलफल गर्दा पनि सहमति नजुटेपछि मन नलागी नलागी एमाले नेतृत्वसँग छलफलका लागि आफूहरु गएको स्मरण गरेका थिए ।
“जसरी पनि एमसीसी पारित हुने भयो । हामीले रोक्नसक्ने स्थिति भएन । काँग्रेस दृढ अडानमा छ । एमाले र काँग्रेस मिलेपछि भइहाल्छ । एमाले नेतृत्वबाट सँगै समझदारी गरेको, कार्यदल बनाएकोबाट आश गरेको त झन कडा । काँग्रेस भन्दा त केपी ओली त झन कडा,” उनले भने, “झगडा गर्दागर्दै पनि यही विषयको गम्भीरता र महत्वलाई ध्यान दिएर देशको लागि जाने हो के लाज मान्ने हो र ? देशको भलो हुन्छ भने जोसँग भएपनि वार्ता गर्न के हुन्छ भनेर अफ्ठ्यारो मानि मानि गएका थियौँ । तर यति नमिठो, यति तीतो र यति अपमानजनक भाषा उहाँले प्रयोग गर्नुभयो।”
प्रतिक्रिया दिनुहोस्